साउनमा ६३ हजारले लिए श्रम स्वीकृति


१ भाद्र २०७९, बुधबार
shram bivag

काठमाडौँ । चालु आवको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।

चालु आवको २०७९/८० को साउनमा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख रमेश अर्यालले जानकारी दिए । गत आर्थिक वर्षको साउन महिनामा २५ हजार चार सय २८ नेपालीले श्रम स्वीकृति लिएका थिए । साउनमा सबैभन्दा बढी मलेसियाका लागि २४ हजार चार सय ८४ श्रम स्वीकृति जारी भएको छ ।

कतारमा १२ हजार पाँच सय ७०, संयुक्त अरब इमिरेट्समा आठ हजार एक सय ४०, साउदी अरेबियामा छ हजार सात सय पाँच र कुवेतमा चार हजार दुई सय ८४ श्रम स्वीकृति जारी भएको छ । पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।

कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । गत आर्थिक वर्षमा दोहोर्‍याएर जाने ४५ प्रतिशत थिए । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् ।
कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकामा २०७८ फागुनदेखि जान सहमति दिएसँगै मलेसिया जानेको संख्या बढ्दै गएको र समग्रमा विदेशिनेको संख्या पनि बढेको सहसचिव अर्यालले जानकारी गराए ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा रु १० खर्ब सात अर्ब विप्रेषण भित्रिएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु नौ खर्ब ६१ अर्ब विप्रेषण भित्रिएको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा सुधार आउने विश्वास गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७