गठबन्धनको वैठकमा प्रस्तुत भएन सिट बाँडफाँटको खाका, शीर्ष नेतासँग छलफल गर्ने


१ भाद्र २०७९, बुधबार
gathabandan karyadal

काठमाडौं। सिट बाँडफाँडका लागि बनेको कार्यदल बैठक बिना निष्कर्ष सकिएको छ । गृहकार्य नपुगेको भन्दै खाका प्रस्तुत नगरी आज (बुधबार) को बैठक सकिएको हो । यसअघिको बैठकले संयोजक कृष्णप्रसाद सिटौलाले शीर्षस्थ नेताहरुसँग छलफल गरी खाका प्रस्तुत गर्ने सहमति भएको थियो ।

तर शीर्षस्थ नेताहरुसँग छलफल हुन नसकेपछि खाका ल्याउन नसकिएको आजको बैठकमा जानकारी गराएका छन् । ‘पार्टीका शीर्षस्थ नेताहरुसँग छलफल नभएपछि खाका बनाउने गृहकार्य पुगेन । यसमा अझै तयारी गर्नुपर्ने देखिएको छ,’ बैठकमा सिटौलाले भने ।

कार्यदल सदस्य रामसहाय यादवले शनिबार बस्ने बैठकमा खाका प्रस्तुत गरिने जानकारी दिएका छन् । उनले सिट बाँडबाँडको मुख्य आधार यसअघिको निर्वाचन रहेको बताए । ‘मुख्यतः अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत र हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मतलाई नै मुख्य आधार बनाउने कुरा भएको छ,’ उनले भने ।
त्यो विषय शीर्षस्थ नेताहरुसँगको छलफलपछि मात्र टुंगो लाग्ने उनले बताए। शनिबारको बैठकअघि संयोजक सिटौलाले शीर्षस्थ नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

‘संयोजक ज्यु आफै वा हामी सबै शीर्षस्थ नेताहरुसँग छलफल समन्वय गर्नेछौं । त्यसकै आधारमा खाका तयार गरेर सिट बाँडफाँडको प्रतिवेदन तयार गर्नेछौं,’ उनले भने ।
कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि अहिलेसम्म भएको छलफलबारे नेताहरुलाई जानकारी गराउने र एउटा निणर्यमा पुग्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७