फोहोरको अवरोध हटाउन बञ्चरेडाँडामा चार बुँदे सहमति (सहमति पत्रसहित)


१ भाद्र २०७९, बुधबार
bancharedanda

काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध अन्त्य गर्न आज (बुधबार) साँझ चार बुँदे सहमति भएको छ ।

काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने चार बुँदे सहमति भएको हो ।

अब प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध नगर्ने भएका छन् । फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति पछि फोहोरको अवरोध अन्त्य भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । ‘अब भोलिदेखि फोहोर व्यवस्थापन सहज हुने आशा गरेका छौं’ उनले भने ।

यसअघि फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गर्ने धादिङको धुनिवेशी नगरपालिकाका सत्तारुढ दलका ३ नेतामाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । तर सो विज्ञप्तिलाई पनि आन्दोलनकै हिस्सा मानेर कारबाही अघि नबढाउने सहमति भएको धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले जानकारी दिए ।

तर सहमति कार्यान्वयनमा आशंका रहेको उनी बताउँछन् । ‘यस्तो वार्ता पटक पटक गरेका छौं । ३ वटै जिल्लाका सीडीओसाबहरुसँग संयुक्त वैठक भएकोले धोका हुँदै भन्ने आश गरेपनि कार्यान्वयनमा भने पूणर् रुपमा विश्वस्त हुनसक्ने अवस्था छैन’ उनले भने ।

उनले फोहोर बोकेको गाडीले लिचेड चुहाउँदै आएमा अवरोध गर्ने बताए । मंगलबार दिउँसो २ बजेदेखि भएको बैठक साँझ ७ बजे मात्रै सकिएको थियो । छलफलमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनवेशी नगरपालिका र ककनी गाउँपालिकाका सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीय नेता सहभागी थिए ।

sa
sa1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७