वर्षमान र जनार्दनको टकरावपछि देव गुरुङलाई महासचिव बनाउने तयारीमा प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द)का दुई प्रभावशाली नेता वर्षमान पुन र जनार्दन शर्माको टकरावको कारण नेता देव गुरुङ महासचिव बन्ने भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारीका गरेका हुन् ।
बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो । अध्यक्षपछि शक्तिशाली मानिने पद महासचिवका लागि पुन र शर्माको चर्को दाबेदारी छ । स्रोतका अनुसार दुई नेताको टकराव उस्तै रहेपछि नेता गुरुङलाई महासचिव बनाउने अन्तिम तयारी प्रचण्डले गरेका हुन् ।
पछिल्लो समय शर्मा पार्टी संगठन विभाग प्रमुख छन्। पुन अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इन्चार्जको जिम्मेवारीमा छन्। पार्टीमा शर्मा र पुन दुवैले आफ्नो पकड बलियो बनाउँदै लगेकाले चर्को प्रतिस्पर्धा हुने देखिएको थियो। प्रतिस्पर्धाको अवस्था आए देशैभर शर्माभन्दा पुनको पकड बलियो रहेको बताइन्छ ।
अध्यक्ष प्रचण्डले भने दुवै नेतालाई उत्तिकै महत्वका साथ जिम्मेवारी दिने गरेका छन्। उनीहरूले समान रूपमा संगठन र राजकीय जिम्मेवारी पाउँदै आएका छन्। यसअघि पुनलाई उर्जामन्त्रीको जिम्मेवारी दिइएको थियो। शर्मालाई अहिले अर्थमन्त्रीको जिम्मेवारी दिएर सरकारमा पठाइएको छ। महासचिवमा यी दुबै नेताले चर्को दाबेदारी गरेपछि तेश्रो विकल्पमा प्रचण्ड पुगेको स्रोतको दाबी छ ।
बरिष्ठ उपाध्यक्षका रुपमा यस अघिको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा घोषणा गरिसकेको छ । पदाधिकारी मध्ये उपाध्यक्षमा महरासँगै पुन, शर्मा, पम्फा भुषाल, हरिबोल गजुरेललाई पनि अध्यक्ष प्रचण्डले थप गर्ने तयारी गरेका छन् ।
बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले पदाधिकारी बाहेक सबै पद टुङ्गो लगाएको थियो ।पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने, १२५ सदस्यीय पोलिटब्यूरो समिति गठन गर्ने, २६ जना वैकल्पिक पोलिटब्यूरो बनाउने र ३४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको हो ।