कलामार्फत गाईको अस्तित्वको चिन्ता गर्दै कलाकार सिंह


२ भाद्र २०७९, बिहीबार
BDP Gandaki 123603

गण्डकी । पोखराको चिप्लेढुङ्गास्थित घामपानी मार्केटको नगेन आर्ट एकेडेमीमा लस्करै गाईका विभिन्न स्वरुप कलात्मक रुपमा सजाइएका छन् । गाईजात्रा एवं कृष्ण जन्माष्टमीको अवसरमा एकेडेमी र विश्व हिन्दू युवा सङ्घको सयुंक्त आयोजनामा विश्व कलायात्री नगेन सिंहको ११औं एकल चित्रकला प्रदर्शनीमा ‘गाई’ शीर्षकमा २१ चित्र राखिएका छन् । सङ्कटमा पर्दै गएको गाईको अस्तित्वलाई त्यहाँ चित्रण गरिएको छ ।

प्रदर्शनीमा आउने जो कोहीलाई पनि ती चित्रहरुले भावुक बनाउँछ । कलामध्ये एकमा हाम्रो पूर्वी दर्शनअनुसार गाईलाई विशेषत तिहारमा सेतो ढाप लगाउने प्रचलनलाई सङ्केत गरेको छ । गाईको त्यो सेता ढब्बा समाजमा बढ्दै गएको हेलाभावका कारण रातो बन्दै गएको कलाकारले देखाउन खोजेका छन् ।

त्यस्तै अर्को कलामा उल्टो इन्द्रेणी जस्तो बनाएर राष्ट्रिय जनावर गाईको अस्तित्व सङ्कटमा पारिएको चित्रण गरिएको छ । प्रत्येक कलामा धरापमा पर्दै गएको गाईको अस्त्विलाई प्रस्तुत गरिएको छ । पूर्वीय संस्कृतिअनुसार गाईको दूधदेखि गहुँत गोबर सबै अत्यावश्यक मान्निछन् । मानिसको जन्मदेखि मृत्यु संस्कारसम्म गाईको दूध दही, गहुँत, गोबर आवश्यक भए पनि गाईको संरक्षण व्यक्ति व्यक्ति हुँदै समाज र राष्ट्रको प्राथमिकतामा पर्न नसकेको कलाकार सिंह बताउँछन् ।

विश्व हिन्दू महासङ्घका सल्लाहकार एवं पूर्ववरिष्ठ उपाध्यक्ष वेदनिधि शर्मा गाई शीर्षकको कला प्रदर्शनीले हिन्दू धर्मको संरक्षणमा टेवा पुग्नुका साथै गाईको महत्वलाई थप उजागर गर्ने धारणा राख्न्छ । हिन्दू धर्ममा आमाको रुपमा पूजा गरिने गाईलाई जीवित देवीका रुपमा लिने गरिएको छ । प्रत्येक वर्ष लक्ष्मीपूजामा त गाईलाई पूजा गर्नुका सौ विभिन्न परिकार खुवाउने प्रचलन छ । शुद्धाशुद्धीमा समेत गाईकै गोवरले घर पोत्ने, गहुँत छर्किएर चोख्याउने प्रचलन छ ।

आयुर्वेद विज्ञानले गाईको दूध, गहुँत तथा गोबरमा विभिन्न औषधीय गुण हुने पत्ता लगाइसकेको छ भने हिन्दू संस्कृतिमा जीवनको अन्त्यावस्थामा गाईदान गर्ने तथा बैतर्णाी गरेमा स्वर्गलोक प्राप्त हुने जनविश्वास छ । कृषि प्रणालीमा पनि गाईको उत्तिकै महत्व देखिन्छ । परम्परागत कृषि प्रणालीमा जोतनका लागि गाईको बाच्छोलाई गोरु बनाउनुका साथै गाईको मलको प्रयोगले कृषि उत्पादनका लागि बढी उत्पादन बढाउने मानिन्छ ।

प्राचीनकालमा ऋषिमुनिहले आफ्ना योगाभ्यास, ध्यान तथा तपस्याका लागि स्वस्थ हुनका लागि गाईको दूध तथा गहुँतको शेवन गर्ने किंवदन्ती छ । प्रदर्शनीकै अर्को एक कलामा आफ्नो बाच्छालाई दूध चुसाउँदै गरेको गाई आगामी दिनको गन्तव्य र अस्तित्व के हुने हो त्यसको अन्यौलतामा रुमल्लिएको देखाइएको छ ।

हाम्रा संस्कार एवं संस्कृतिसँगै कृषि प्रणालीमा जोडिएको गाईका यिनै महत्वलाई उजागर गर्दै समाजमा सचेतना फैलाउने उद्देश्यका साथ गाई शीर्षकको कला प्रदर्शनी गरिएको नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योति हमालले बताए ।
‘प्रदर्शनीमा आउने प्रत्येकले कला हेरिसकेपछि अस्तित्व सङ्कटमा पर्दै गएको गाईबारे एकपटक सोच्न बाध्य बन्नुभएको छ’, उनले भने, ‘गाईजात्रा एवं कृष्ण जन्माष्टमीका अवसर पारी गरिएको यो प्रदर्शनीले गाईको संरक्षणमा केही न केही सचेतना जगाउने र योगदान पुर्‍याउने अपेक्षा गरेका छौँ ।’

गाई शीर्षकमा सिंहले गरेको प्रदर्शनीले समाजमा यसको संरक्षणमा केही न केही टेवा पुग्ने कलाकार एवं पुन आर्ट ग्यालरी पोखराका सञ्चालक तीलक पुन बताउँछन् । कलाका माध्यमबाट समाजका हरेक गतिविधिमा योगदान गर्न सकिने भए पनि कला क्षेत्र अझै राज्यको प्राथमिकतामा पर्न नसकेको उनको भनाइ छ ।

सिंहले कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पहिचान बनाएको पोखरामा गरिएको गाई शीर्षकको प्रदर्शनीमा भने अल्कोहल कलर (रक्सी रङ)को नयाँ प्रयोग गरेका छन् । आगामी भदौ ६ गतेसम्म चल्ने प्रदर्शनीमा कलाप्रेमीका साथै कलाका अध्येताहरू पुग्ने गरेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य सिंहले यसअघि १० वटा चित्रकला प्रदर्शनीका साथै दर्जनौँ सामूहिक कला प्रदर्शनी गरिसकेका छन् । कलाकार सिंहको जीवनीमा आधारित वीरेन्द्र हमाल निर्देशित नग्न तृष्ण नाटक विसं २०६४ मा मञ्चन भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७