गोकुल बास्कोटाले भने, ‘राष्ट्रपतिको पत्र च्यातेर देखाउनुस्’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश च्यातेर देखाउन चुनौती दिएका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रपतिले नागरिकता विधेयक पुनर्विचार गर्नका लागि पठाएको पत्रमाथि प्रश्न उठाउन नमिल्ने बताए ।
‘संविधानबमोजिम राष्ट्रपतिले पठाउनु भयो, यसमा प्रश्न उठाउने ? मिल्छ त्यो ? राष्ट्रपतिमाथि प्रश्न उठाउने मित्रहरूले कि त भन्नुपर्यो, संविधानको यो नियम, कानुन, धाराबमोजिम यो पत्र गतिलो छैन भने च्यातेर देखाउनुुस् ।’
उनले विधेयक प्रक्रिया मिचेर हतार-हतारमा ल्याइएको जिकिर गरे । प्रक्रिया मिचेर नजान आग्रह पनि गरे । देशलाई विभाजित गरेर जान नहुने उनको भनाइ छ । बास्कोटाले आफूहरूले नभई ‘सत्तापक्षका सांसदहरूले नै रङ बदलेको’ पनि बताए ।