भूमिहीनले असोज पहिलो सातासम्म जग्गाका लागि निवेदन दिनुपर्ने


३ भाद्र २०७९, शुक्रबार
application for land khotang 1

खोटाङ । राष्ट्रिय भूमि आयोग खोटाङले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि असोज ४ गतेभित्र निवेदन दिन आग्रह गरेको छ । जिल्लाका १० वटै स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आयोगले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनेको हो ।

आयोगको केन्द्रीय कार्यालयले सूचना प्रकाशन गरेसँगै जिल्लाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि निवेदन दिन आग्रह गरिएको भूमि आयोगका जिल्ला अध्यक्ष सुरेश राईले बताए ।

‘नेपालका कुनै पनि ठाउँमा आफ्नो नाममा जग्गा नभएको र अंश पाउने अवस्था नरहेका व्यक्तिले सम्बन्धित वडा कार्यालयमा गएर रातो फारम भर्नुपर्छ’, उनले भने, ‘जमिनमा आवास निर्माणसँगै भोगचलन गर्दै आएको छ तर, उक्त जमिन सरकारी तथा ऐलानी रहेका अव्यवस्थित बसोबासीले सेतो फारम भर्नुपर्ने व्यवस्था छ ।’

आयोगको केन्द्रीय कार्यालयबाट सूचना प्रकाशन भएको मिति भदौ १ गतेदेखि ३५ दिनभित्रमा जिल्लामा निवेदन सङ्कलन हुने जनाइएको छ । जिल्लाका १० वटै स्थानीय तहबाट निवेदन सङ्कलन गरेपश्चात दाबी-विरोधका लागि सात दिनको सूचना वडाले निकाल्ने अध्यक्ष राईले बताए । निवेदन सङ्कलनसँगै दाबी-विरोध आएको अवस्थामा वडा र पालिका सहजीकरण समितिले समाधान गर्नेछ ।

पालिकाले पठाएको अन्तिम नामावली जिल्ला मालपोत कार्यालयमा आउने र त्यसपछि प्राप्त निवेदन दिने व्यक्ति भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी हो/होइन भनेर मालपोत कार्यालयले जाँच गरेपछि उनीहरूलाई भूमि उपलब्ध गराइने अध्यक्ष राईले बताए ।

भूमिहीनलाई भूमि उपलब्ध गराउने गरी गत साउन ४ गते भूमि आयोगले जिल्लाका १० वटै स्थानीय तहसँग सम्झौता गरेको थियो । राष्ट्रिय भूमि आयोगले जिल्लाका करिब पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आवासका लागि प्रतिपरिवार तीन सय ४० वर्गमिटर र कृषिका लागि तीन हजार वर्गमिटर जग्गा व्यवस्था गर्नुपर्ने प्रावधान छ । अव्यवस्थित बसोबासीलाई आवासका लागि प्रतिपरिवार एक हजार वर्गमिटर र कृषि प्रयोजनका लागि १० हजार वर्गमिटर जग्गा उपलब्ध गराइने समितिका सदस्यसचिव एवं जिल्ला नापी कार्यालयका अधिकृत मदन खत्रीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७