चन्द्रमामा फेरि मानव लैजान नासाको विशाल रकेट तयार : परीक्षण उडान अगस्ट २९ मा


३ भाद्र २०७९, शुक्रबार
nas 4H1tiHmGwy

काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा मानिस पठाउन निर्माण गरेको रकेट प्रक्षेपणको तयारी गरेको छ ।
स्पेस लन्च सिस्टम (एसएलएस) नामको रकेटलाई फ्लोरिडामा रहेको केनडी स्पेस सेन्टरमा रहेको ‘प्याड-३९ बी’ मा लगिएको छ । झण्डै सय मिटर अग्लो एसएलएसलाई ठूलो ट्याक्टरमा चढाएर प्याडसम्म लगिएको बीबीसीले जनाएको छ । त्यहाँबाट रकेट अबको १० दिनपछि अर्थात अगस्ट २९ मा पहिलो पटक उड्नेछ ।

त्यो परीक्षण उडानमा चालक दलका कोही पनि सदस्य रहने छैनन् । तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ । यो नासाका लागि एउटा महत्त्वपूर्ण क्षण मानिएको छ । आउँदो डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो-१७ अभियानको ५० औं वार्षिकोत्सव मनाउन लागेको छ ।

नासाले नयाँ आर्टमिस कार्यक्रमसहित अन्तरिक्ष अभियानमा पुनः सहभागी हुने र आधुनिक युगलाई लाभ दिने प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आर्टमिस ग्रीक देवता अपोलोकी जुम्ल्याहा बहिनीको नाम हो र उनलाई चन्द्रमाकी देवी पनि मानिन्छ । नासाले आफ्नो चन्द्र अभियानलाई सन् २०३० वा त्यसको केही समयपछि मङ्गल ग्रहमा अन्तरिक्षयात्रीहरू पठाउने आफ्नो तयारीसँग जोडेर हेरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७