परिवारका सबै सदस्य अपाङ्गता परिचयपत्रको भरमा


३ भाद्र २०७९, शुक्रबार
aa

बागलुङ । धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका-११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे ।

पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उनको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ । सापकोटाको पाँच जनाको परिवारमध्ये उनी मात्रै सपाङ्ग हुन् । उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपाङ्ग छन् । आमालाई क्यान्सर रोगसमेत छ । लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ ।

दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्न समेत सक्दैनन् । आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन । ‘सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधिया कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बाङ्गो छ, पाठेघरको क्यान्सर छ । आर्थिक अभावले उपचार गर्न सकिएको छैन’, उनले भनिन्, ‘भाइलाई घरमा पाल्न नसक्दा पोखरास्थित वेदआश्रममा पठाएकी छु ।’

बुबा बाहेक सबैलाई उपचारका लागि पोखरा र भरतपुर लगेको दुर्गाले सुनाइन् । गत साउन २९ गते सबैजनाको अपाङ्गता परिचयपत्र बनाएको उनले बताइन् । ‘सम्पत्तिका नाममा खोला छेउमै रहेको घर छ’, उनले भनिन् । अपाङ्गता परिचयपत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधोपचार गर्दै आएको दुर्गाको भनाइ छ । आमा सीताले ‘क’ वर्गको तथा अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाउनुभएको छ । ‘क’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु चार हजार र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु दुई हजार प्राप्त हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७