सुपर न्यादी विद्युत् गृह पुग्ने सुरुङ मार्गको ‘ब्रेक थ्रु’


३ भाद्र २०७९, शुक्रबार
nyadi

लमजुङ । उत्तरी लमजुङको ङादीखोलामा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ’ब्रेक थ्रु’ गरिएको छ । अर्धभूमिगत विद्युत् गृह निर्माणका लागि आयोजनाले करिब ४ सय मिटर सुरुङ मार्ग निर्माण गरेको हो । सिउरी न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्य समेत भइरहेको छ ।

मर्स्याङ्दी गाउँपालिका ६ डहरेमाथि निर्माण हुने ड्यामसाइडसम्मको २२ किलोमिटर सडकमध्ये करिब डेढ किलोमिटर सडक बनाउन बाँकी छ । यो कार्य २ महिनामा पूरा हुने आयोजनाले जानकारी दिएको छ । विद्युत् गृह नाइँचे गाउँ नजिकै बन्नेछ । हेलिकप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पुर्‍याएर बाँध र ड्यामसाइडबाट सडक खन्ने कार्य समेत भइरहेको छ ।

आयोजनाका प्रवन्ध निर्देशक दिनेश गुरुङका अनुसार ७ किलोमिटरको सुरुङमार्गमा काम भइरहेको छ । सुरुङका लागि २ वटा अडिट टनेलसहित ५ सय मिटर खन्ने काम सकिएको छ । विद्युत् गृह पुग्ने पहुँचमार्ग पूरा भएपछि विद्युत् गृहको काम सुरु हुनेछ । अहिले आयोजना निर्माण कार्यमा २४० जना जनशक्ति परिचालित छन् ।

आयोजनाको सबै काम जोड्दा करिब ३० प्रतिशत सकिएको उनले जानकारी दिएका छन् । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार आगामी २ वर्षभित्र (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गर्ने तालिका छ । वर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिद बिक्री हुनेछ ।

हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको उक्त आयोजना सक्न ७ अर्ब रुपैयाँ लागत प्रक्षेपण गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वटा वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाा (७५ प्रतिशत) ऋण लगानी गर्नेछ ।

प्रवर्द्धकको इक्वीटी (स्वपुँजी) १ अर्ब ७५ करोड रुपैयाँ (२५ प्रतिशत) रहनेछ । वार्षिक २३ करोड ५७ लाख ६० हजार युनिट (२३५.७६ गिगावाट घन्टा) विद्युत् उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको प्रसारण लाइन आयोजना आफैंले निर्माण गर्ने निर्देशक गुरुङले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७