एमालेलाई सरकारको नेतृत्वमा ल्याउने गरी चुनावी तयारी छ : भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका भट्टराईले सङ्घ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आउँदो चुनावको तयारी गरिरहेको दावी गरेका हुन् ।
शुक्रवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आउँदो चुनावका लागि आफ्नो पार्टीले नागरिकको आकांक्षााअनुसारको घोषणापत्र निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् । त्यसका लागि पार्टीका सबै विभागले विज्ञहरूसँग छलफल गरेर घोषणापत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिए ।
उनले भने, ‘एमालेसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ । हामी आउँदो चुनावमा सरकार सञ्चालन गर्ने आकांक्षाका साथ तयारी गरिरहेका छौँ । त्यसो हुँदा हाम्रो घोषणापत्र बढी व्यावहारिक, बढी उपयोगी र प्रतिबद्धताहरूलाई सम्बोधन गर्दै अगाडि जाने खालको हुन्छ ।’
सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आउँदो चुनावका लागि बनाउन लागेको घोषणापत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरेको बताए । एमालेले पार्टीका सबै विभागलाई यही भदौ १५ गतेभित्र चुनावी घोषणापत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ । त्यहीअनुसार सबै विभागले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए ।