सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरी आउन निर्देशन दिएका छन् । आज (शुक्रबार) साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको बैठकमा गठबन्धनमा सिट बाँडफाँड गर्न बनेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका थिए ।
कार्यदलमा भएको छलफलको निष्कर्षबारे शीर्ष नेताहरूले समेत सुझाव राखेका छन् । छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँडको विषयमा साझा धारणा बनाउन निर्देशन दिएका छन् ।
‘सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएपछि नेताहरूले त्यसलाई अन्तिम रुप दिन निर्देशन गरेको जानकारी दिएका छन् । ‘आजको बैठकमा हामीले कार्यदलमा भएको छलफलको निष्कर्षहरू प्रस्तुत गर्यौं । नेताहरुले पनि त्यसबारे धारणा राख्नुभयो,’ उनले भने, ‘नेताहरुले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनु भएको छ ।’
उनले अब कार्यदलले चाँडोभन्दा चाँडो सिट बाँडफाँडको काम पूरा हुने गरी छलफललाई अघि बढाउने बताएका छन् । सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा कांग्रेसबाट नेता सिटौला, महामन्त्री गगन थापा, सञ्चारमन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदलले २०७४ को निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचनको मत परिणाम र २०७९ को स्थानीय तह निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँड गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ ।