ओली रहुञ्जेल प्रतिगमन रहन्छ, विमतिका वावजुद कांग्रेससँग सहकार्य : केसी


३ भाद्र २०७९, शुक्रबार
chitra bahadur kc

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंसिर ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टी विमतिका बावजुद नेपाली कांग्रेससँगै सहकार्य गरेर जाने बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी ओली रहुञ्जेल प्रतिगमन रहने पनि आरोप लगाएका छन् ।

पार्टी प्रशिक्षणको क्रममा गृह जिल्ला आएका केसीले प्रतिगमन विरुद्धको लडाईमा सफल हुन कांग्रेससँगको गठबन्धन आवश्यक रहेको पनि उनले बताएका छन् । केसीले नेकपा एमालेका अध्यक्ष केपी ओली रहुञ्जेल प्रतिगमन जारी रहने भन्दै बिमतिका बाबजुत कांग्रेससहितको पाँच दलीय गठबन्धन आवश्यक रहेको बताए ।

एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा राजमोले सत्ता गठबन्धनमा फरक मत राखेको पनि उनको भनाइ थियो । ‘पञ्चायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेस नै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो,’ केसीले भने, ‘धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा वामपन्थी भए पनि एमालेभन्दा कांग्रेस इमानदार देखियो ।’

यस्तै हिन्दु सम्राट बनाउने र संसद विघटन गरेर प्रतिगमन ल्याउने ओलीको पक्षमा लाग्न नसकेको उनले बताए । नागरिकता विधेयकको भने केसीले खुलेरै विरोध गरेका छन् । नेपाललाई श्रीलंका, फिजी जस्तो बनाउन नागरिकता विधेयक ल्याइएको उनको आरोप छ । ‘भारतमा गएका हाम्रा छोरी चेलीले ७ वर्षमा नागरिकताको प्रक्रिया थाल्न पाउने, बुहारीलाई सिंदुरसँगै नागरिकता चाहिने ?’ केसीले भने, ‘यो विषयमा भारतीयको गम्भीर चलखेल छ ।’

नेपालका ठूला दल र शीर्ष नेताहरु भारतीयको इशारामा चलेको उनले आरोप लगाए । अध्यादेशबाट ल्याउन चाहेको नागरिकता विधेयक अहिले कांग्रेसले संसदबाट ल्यायो भनेर एमालेले रोइलो गरेको भन्दै उनले एमालेका नेताहरूमाथि कटाक्ष गरेका थिए ।
यसैबीच आगामी निर्वाचनमा राजमोले आफ्नो संगठन भएको स्थानमा मात्रै गठबन्धन गर्ने र उमेदवार दिने केसीले बताएका थिए । ‘संगठन नभएको स्थानमा पनि चाहिएन, नागरिकताको एजेण्डामा लिप्त पनि बन्दैनौं,’ केसीले भने, ‘बरु एक्लै लड्न पनि राजमो तयार छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७