उपत्यकाको फोहर व्यवस्थापन गर्न १० दिन लाग्ने


३ भाद्र २०७९, शुक्रबार
fohor 2 scaled

काठमाडौँ । दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन ।

सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साविक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए । उनका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहर व्यवस्थापन गर्नुपर्ने छ ।
विना अवरोध नियमित फोहर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहर व्यवस्थापनमा सो समय लाग्नेछ ।

फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारबाट साविक बमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो । पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन । तर कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ टिपर छन् । ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताए ।

सहमतिपछि बिहीबारबाट नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको काम पनि सुरु भएको छ । उक्त स्थानमा पनि अझै पाँच सय टिपर फोहर रहेको बताइएको छ । लामो समयदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लान नपाएपछि कामपाले टेकुमा थुपारी प्लािस्टकले छोपेर राखेको थियो । हाल सञ्चालनमा रहेको फोहर बोक्ने टिपरको संख्यामा वृद्धि गरी केही दिनमा नै दैनिक तीन सय गाडीले फोहर विसर्जनको तयारी रहेको छ ।

अहिले उपत्यकाको विभिन्न स्थानमा अस्तव्यस्त रुपमा रहेको फोहरको विसर्जन हुने वित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहर पूणर् रुपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ । घरबाट फोहर उठाउँदा स्रोतमै वर्गीकरण गर्ने विषयलाई महत्वका साथ हेर्ने र तोकिएको बारअनुसार फोहरको वर्गीकरण नभए यसअघि भनेझै कारबाही प्रक्रिया अघि बढाइने कामपाले चेतावनी दिएको छ ।
लामो समयसम्म रोकिएको फोहर व्यवथापनको लागि नेपाल टिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर निर्माण सेवालगायत संस्थाले काठमाडौँको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लानका लागि निःशुल्क सेवा प्रदान गरेका छन् ।

बिहीबार उक्त समितिले एक हजार आठ सय टिपर फोहर बोकेर ल्याण्डफिल साइट पुगेका थिए । समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको समितिका सचिवालय सदस्य रत्नमणि पाठकले जानकारी दिए । फोहर व्यवस्थापनका लागि अवरोध गर्ने श्रृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै कामपाका प्रमुख साहले फोहर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा सबैले जोड दिन आवश्यक रहेको बताएका छन् ।

उपत्यकाको फोहर व्यवस्थापनको सवालमा सिसडोल, बञ्चरेडाँडाका स्थानीय बीच पटक पटक सहमति भएको छ । पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समय समयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहरको डङ्गुर थुप्रने गरेको छ । स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता दीर्घकालिन नभएको भन्दै कामपाले अन्य स्थानमा फोहर व्यवस्थापन स्थान पहिचानको काम भने जारी राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७