धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै


२०७९ भदौ ४ शनिबार ०७:०४ बजे

म्याग्दी । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका धेरै आयोजना वर्षौंपछि निर्माणको प्रक्रियामा अघि बढेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि प्रवद्र्धक सक्रिय बनेका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । प्राधिकरणले मालिका गाउँपालिका-७ मा एक सय ३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण थालेको छ ।

डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका हुन् । सन् २०२४ भित्र डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण गर्ने तयारीसहित काम थालिएको डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । विद्युत् विकास विभागका अनुसार धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणका क्रममा छन् ।

जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेका छन् । शिवरात्री खोलाको पहरामा अड्किएको सडक निर्माण कार्य धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेर सफल बनाएको थियो । शिवरात्री खोलामा मार्ग खोलेपछि त्यसअघि सडक निर्माण भएको हो । विभागका अनुसार हाइड्रो इम्पायर प्राली काठमाडौँले धवलागिरि-४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।

आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेपछि सुरुङ, विद्युत गृह निर्माण थाल्ने तयारी भएको बताए । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माणको अनुमति पाएका छन् । त्रिपन्न दशमलव मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला र ५७ दशमलव ३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणको अनुमति लिएका छन् ।

म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्राली र ऊर्जा डेभलपर्सबीच हालै लगानी सम्झौता भएको छ । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाउन थालेको छ । धवलागिरि-४ मा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले २३ दशमलव ७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धवलागिरि-१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।

एभरेष्ट इनर्जी एण्ड इन्फ्राइस्टक्चर प्रालीले धवलागिरि-४ मा १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला निर्माणको अनुमति पाएको छ । सुसमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ । दरखोला हाइड्रोपावर लिमिटेडले छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला साना जलविद्युत् आयोजना, सिम्कोश हाइड्रोपावर लिमिटेडले धवलागिरि-४ मा तीन दशमलव ४५ मेगावाट क्षमताको सिम्कोश जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले धवलागिरि-४ मुदीमा १२ दशमलव ७३ मेगावाट क्षमताको अपर मुदी, सुसमित इनर्जीले धवलागिरि-४ मुदीमा नौ दशमलव पाँच मेगावाट क्षमताको म्याग्दीखोला ‘बि’ जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएको छ ।

प्रकाश जोशीले धवलागिरि गाउँपालिकाको मुदीमा चार दशमलव छ मेगावाट क्षमताको तिरिजा खोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् । जलविद्युत् आयोजना भित्रिएसँगै सडकलगायत भौतिक पूर्वाधार निर्माणले गति लिने, आयोजनाले बनाएका पूर्वाधारबाट सर्वसाधारणलाई सुविधा पुग्ने, रोजगारी र लगानीको अवसर पाउनुका साथै दीर्घकालीन हिसाबले गाउँपालिकालाई विद्युत् रोयल्टी आम्दानी हुने सम्भावना छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७