ट्वीट गरेको आरोपमा साउदीमा एक व्यक्तिलाई ३४ वर्षको जेल सजाय


२०७९ भदौ ४ शनिबार १०:३८ बजे

काठमाडौँ । ट्वीट गरेको आरोपमा साउदी अरबको एक अदालतले एक जना विद्यावारिधीका विद्यार्थीलाई ३४ वर्षको जेल सजाय सुनाएको छ ।

बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल-शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्वीट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो ।

साउदी अदालतको यो निणर्यबाट विश्व समुदाय स्तब्ध भएको छ भने त्यसको विश्वव्यापीरूपमा निन्दा भएको छ । वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो ।

एशोसिएटेड प्रेस (एपी)का अनुसार प्राप्त कानुनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल-शेहाबले न्यायाधीशहरूलाई २८५ दिन भन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिइन् । फ्रिडम इनिसिएटिभले अल-शेहाबलाई साउदी अरबको शिया मुस्लिम अल्पसंख्यकको सदस्यको रूपमा वणर्न गरेको छ, जसले लामो समयदेखि सुन्नी-शासित राज्यमा व्यवस्थितरूपमा भेदभाव गरेको गुनासो गरेको छ । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले अल-शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र उनलाई सुनाइएको सजाय ‘क्रुर एवम् गैरकानूनी’ भएको भन्दै आलोचना गरेको छ ।

न्यायाधीशहरूले अल-शेहाबलाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ गरेको आरोप लगाएका छन् भने आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जालमा पोष्ट गरिएका उनका विषयवस्तुले झूटा अफवाह सम्प्रेषण गरेको दाबी गरिएको छ । उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र रिट्विट गरेको आरोपसमेत लगाइएको छ ।

दुई हजारभन्दा बढी फलोअर नभएको व्यक्तिगत खाताबाट जिज्ञासावस आफूले ट्वीट र रिट्विट गर्नु र उनीहरूका दृष्टिकोढ नियाल्नु आतंकवाद हो भन्ने आफूलाई नलागेको अपीलका क्रममा न्यायाधीशसमक्ष अल-शेहाबले बताएकी छन् । विशेष फौजदारी अदालतले उनलाई प्रतिआतंकवाद र साइबर अपराध कानुनअन्तर्गत ३४ वर्षको यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएपछि उनले आफ्नो बचाउमा उक्त दलील पेश गरेकी हुन् । रासस/एपी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७