सच्चियो कविराम र कर्णबहादुरको नागरिकता


२०७९ भदौ ५ आइतबार ०७:१० बजे

दैलेख । नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ‘ठगे कामी’ लेखिएका कणर्बहादुर विकको नागरिकता सच्चिएको छ । दुवै दैलेखका हुन् ।

साबिक मेहेलतोली गाविस-६ हाल भगवतीमाई गाउँपालिका मेहेलतोलीका कविराम र साबिक कट्टी गाविस-६, हाल भगवतीमाई गाउँपालिका-५ का कणर्बहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखले आइतबार अपमानजनक नाम सच्चाएर नयाँ नागरिकता प्रदान गरेको छ । तत्कालीन मेहेलतोली गाउँ पञ्चायत(६, हाल भगवतीमाई गाउँपालिका-३ मा २०१७ पुस २५ गते जन्मिएका कविराम कामी अहिले उमेरले ६२ वर्ष पुगेका छन् ।

तत्कालीन श्री ५ को सरकार, जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए । तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले उनलाई ‘कुकुर कामी’ नाम राखेर नेपाली नागरिकता थमाएको थियो ।

नागरिकतामा अपमानजनक नाम भएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन गरेको थियो । साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो । गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

कविराम जस्तै नेपाली नागरिकतामा ठगे कामी लेखिएका साबिक कट्टी गाविस(६, हाल भगवतीमाई गाउँपालिका(५ का कणर्बहादुरको पनि नागरिकताको महलमा कणर्बहादुर विक लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाएका छन् । नामकै कारण अपमानित हुनुपरेका कणर्बहादुरले साउन २९ गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

आवश्यक प्रक्रिया पुर्‍याएर कविराम कामी र कणर्बहादुर विकको नयाँ नागरिकताको प्रमाणपत्र जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । ‘हामीले नागरिकतामा कुकुर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कणर्बहादुर विकलाई नागरिकताको नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने । उनले नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिहरूलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७