‘सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गराैं’


२०७९ भदौ ६ सोमबार ०७:१७ बजे

काठमाडौँ । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्‍यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’ मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन् । उनीहरु फेसबुकमा साथी बने । कुरा हँुदै गएपछि उनीहरु नजिकिँदै गए । सबै कुराहरु एकअर्कालाई शेयर गर्न थाले । उनीहरु यतिसम्म नजिक भए कि आफ्नो निजी तस्बिर एकअर्कालाई पठाउनेसम्म गर्न थाले ।

योजनाबद्धरुपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सर्ट’ लिएर राखे । केही समयपछि युवकले ती महिलालाई उक्त सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाले । कहिले आफैँले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले ।

अश्लिल भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बर मानसिक यातना दिन थाले । यति गर्दा समेत आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले ।
उक्त घटनापछि पीडित महिलाले दिएको उजुरीमार्फत गत साउन २४ गते साइबर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमन राजथला पक्राउ गर्‍यो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर गरेको छ । त्यस्तै गत भदौ १९ गते नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गर्‍यो ।

नक्कली ‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’ मार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप उनी पक्राउ परेका हुन् । उनीलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले मुद्दा चलाएको छ ।

माथिको उक्त घटना प्रतिनिधि पात्र मात्रै हुन् । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम भने रोकिएको छैन, झनै बढ्दै भएको छ । सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लिलता प्रदर्शन गर्ने, ‘बेवसाइट ह्याक’ गर्ने, अनाधिकृतरुपमा नग्न तस्बिर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्यूरोमा उजुरी पर्ने संख्या बढ्दै गएको छ ।

फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्यूरोको तथ्याङ्कले देखाएको छ । साइबर ब्यूरोको तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्बिर सामुन्ने आउँछ ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा चार हजार छ सय ८६ उजुरी दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी फेसबुक र म्यासेन्जरमार्फत पीडित बनेकाको छ । यो समस्या पीडित भएकाको संख्या तीन हजार नौ सय ५६ रहेको जानकारी साइबर ब्यूरोले उपलब्ध गराएको छ ।

यी दुईपछि सबैभन्दा बढी उजुरी टिकटकबाट पीडित हुनेले दिएका छन् । यसमा उजुरी दिने तीन सय सात छन् । यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजुरीको संख्या एक सय २७ रहेको छ । गत आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको संख्या चार हजार छ सय ८६ रहेको तथ्याङ्क प्राप्त भएको छ ।

यसैगरी आव २०७७/७८ मा फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको संख्या तीन हजार चार सय ५१ रहेको छ । त्यस्तै टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या ९६ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको संख्या तीन हजार नौ सय छ पुगेको देखियो ।

आव २०७६/७७ मा भने फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको संख्या दुई हजार दुई सय ५० रहेको छ । त्यस्तै टिकटकमा चार, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको संख्या १५ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको संख्या दुई हजार तीन सय एक पुगेको साइबर ब्यूरोबाट उपलब्ध तथ्याङ्कले देखाएको छ ।

सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पीडित भएको भन्दै उजुरी परेको आधारमा सो कार्यालयले तीन आवमा दुई सय ५८ मुद्दा दर्ता गरेको छ । फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट पीडित बनेको भन्दै प्रहरीमा परेको उजुरीको आधारमा साइबर ब्यूरोले आव २०७८/७९ मा एक सय ३२ मुद्दा दर्ता गरेको थियो । त्यस्तै आव २०७७/७८ मा ७६ र २०७६/७७ मा ५० वटा मुद्दा ब्यूरोले जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको हो ।

उक्त तीन आवमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ परेर मुद्दा चलाएको एक सय ८४ पुरुष र १६ जना महिला गरी दुई सय रहेका छन् । जसमा क्रमशः आव २०७८/७९ मा ९७ पुरुष र १५ महिला, आव २०७७/७८ मा ५० पुरुष र आर्थिक वर्ष २०७६/७७ मा ३७ पुरुष र एक महिला पक्राउ गरेका थिए ।

यसरी तुलनात्मकरुपमा बढेको विद्युतीय अपराधको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पशुपतिकुमार रायले नागरिकमा साइबर अपराधसम्बन्धी चेतनाको स्तर बढ्दै भएकाले पनि उजुरी पर्नेको क्रम बढेको बताए ।

उनका अनुसार-अहिले डिजिटल माध्यमको पहुँच हरेक नागरिकसम्म पुगेकाले अपराधको तथ्याङ्क पनि बढेको देखिन्छ । समयअनुसार हरेक नागरिक सामाजिक सञ्जालको पहुँचसँग (फेसबुक, म्यासेन्जर, टिकटक, भाइबर आदि) जोडिँदै गएका छन् । यसरी उक्त माध्यमबाट पीडित बन्नेको संख्यामा पनि वृद्धि भएको हो । उनले सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी आर्थिक लाभ लिने मनसाय राखेर पनि अपराध गर्ने गरेको जानकारी दिए । सूचना अधिकारी रायले भने, ‘अपराधबाट बच्नका लागि नागरिक आफैं सचेत र चनाखो हुनुपर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७