दिल्लीबाट आएको रक्तचन्दन कसको ?

टुरिष्ट बसमा रक्तचन्दन बरामद


२१ चैत्र २०७४, बुधबार
raktachandan

काठमाडौं, २१ चैत । रक्तचन्दनका कारोबारीहरुले भारतबाट चीनतर्फ पठाउने नयाँ तरिका अपनाउन थालेका छन् । तातोपानी नाकाबाट ट्रकका ट्रक रक्तचन्दन चीनतर्फ पठाएका कारोबारीहरुले पछि थाहा पाएपछि एम्बुलेन्स, बसको प्रयोग गर्न थाले । त्यसमा पनि कडाइ गरेपछि उनीहरुले भरिया लगाएर मुगु, बाजुरा जस्ता जिल्लाबाट बोकाएर चीनतर्फ तस्करी गरे । भरियाहरुले लाँदा पनि पक्राउ गर्न थालेपछि तस्करहरु सुस्ताउन पुगे ।

raktachandan
फोटो साभारः रातोपाटी डटकम

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवा नाकाबाट फाट्टफुट्ट रक्तचन्दन चीनतर्फ पठाउँदै आएका तस्करहरु प्र्रहरी सक्रिय भएपछि दिल्लीतिर लागेका थिए । दिल्लीबाट उनीहरुले कार्गो र विभिन्न भाँडाकुँडा बनाएर रक्तचन्दन कारोबार गरेको बुधबार दिल्ली चल्ने बस चेक गर्दा बरामद भएको घटनाबाट पुष्टी भएको छ ।
भारतको दिल्लीबाट कार्गोमार्फत् चीनमा रक्तचन्दन तस्करी गर्न सुमन खत्रीसहितको समूह सक्रिय रहेको समाचार आइरहेकै बेला काठमाडौँबाट दिल्ली चल्ने टुरिष्ट बसमा बरामद भएको छ । काठमाडौंबाट दिल्ली चल्ने बसमा रक्तचन्दन भित्रिएको सूचना पाएपछि महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार कलंकी चोकमा चेक गर्दा भाँडा बनाएको १० किलो ७७५ ग्राम र मालामा प्रयोग गर्न बनाएको १३०२ दाना (४७० ग्राम) रक्तचन्दन बरामद भएको थियो ।
प्रहरीले उक्त बसको हुटको तल माथि, दायाँ, बायाँ फल्स बटम बनाई राखेको कुर्था टप्स २९८८ थान, कुर्था सुरुवाल ६० थान, सिल्क साडी १४३ थान, सिल्क बनारसी साडी ६४ थान, सिफन साडी ६९ थान, लेडिज सेन्डिल १८ जोर, जेन्स सर्ट २१० थान तथा विजुलीका सामान बोर्ड कभर १० थानमा रहेको २० बट्टा, थ्री प्लक १० थानमा रहेको ४० बट्टा, फोर प्लक सकेट ५ थानमा रहेको १० बट्टा, टुप्लक २० थानमा रहेको ८ बट्टा, स्विच २० थानमा रहेको ४० बट्टा समेत बरामद गरेको थियो ।

प्रहरीले काठमाडौं नैकाप बस्ने ४१ वर्षीय झिल्केमान रुम्वा (चालक) र बुटवल घर भई हाल नैकापमै बस्ने २५ वर्षीय सुजन पुन (सहचालक) लाई पक्राउ गरेपनि उनीहरुले रक्तचन्दन कसको हो भन्ने आफूलाई जानकारी नभएको बताएका छन् ।
रक्तचन्दनसहित पक्राउ परेका दुवै जनालाई प्रहरीले जिल्ला वन कार्यालय काठमाडौं पठाएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७