अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेर चुनावमा होमियो एमाले


११ भाद्र २०७९, शनिबार
KP Sharma Oli CUNUML

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर आम निर्वाचनमा होमिएको छ । पार्टीको केन्द्रीय कमिटीको आज २०७९ भदौ ११ गते सम्पन्न चौथो बैठकले अध्यक्ष ओलीको नेतृत्वमा पार्टीले बहुमत ल्याउने गरी निर्वाचनमा जाने र उनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको हो ।

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।

ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भए ।

माओवादीको समर्थनमा ओली ०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त भए । ०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । तर दुई पटक संसद विघटन गरेपछि ओली २८ असार २०७८ को सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका थिए ।

बैठकका निर्णय :  
१. अध्यक्ष कमरेडले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि कमिटीका सदस्यहरूले नौवटा समूहमा अलग–अलग रहेर छलफल गर्नुभयो । समूहबाट प्राप्त उपयुक्त सुझावलाई अध्यक्षद्वारा मनन गरी प्रस्तुत प्रतिवेदन पारित गरियो ।

२. केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगका अध्यक्षले आ–आफ्ना आयोगका काम र अपेक्षाका बारेमा बैठकलाई जानकारी दिनुभयो । बैठकले उक्त जानकारीहरू ग्रहण गर्यो । 

३. आगामी ०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारको सिफारिस प्रक्रिया र उम्मेदवार छनौट मापदण्ड बैठकले निर्धारण गरेको छ ।  

४. स्थानीय तह निर्वाचनका सम्बन्धमा विभिन्न व्यक्तिका विरुद्ध परेका उजुरीहरू र त्यसमाथिको छानवीन कार्यदलको कामका बारेमा संयोजक उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले बैठकलाई जानकारी गराउनुभयो । 

५. केन्द्रीय कमिटीको तेस्रो बैठकपछि सचिवालय बैठकबाट गरिएका निर्णयहरू अनुमोदन गरिएको छ । सचिवालयले निर्वाचन घोषणा–पत्र मस्यौदा कार्यदल र केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । त्यस्तै, विभाग सचिवहरूको मनोनयन र तीन विभाग विस्तार, स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, पार्टी प्रवेश गरेकाहरूको व्यवस्थापनको कामसम्बन्धी प्रस्ताव, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय कमिटीमा मनोनयन, छ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारीमा गरिएको सामान्य हेरफेर लगायतका निर्णय अनुमोदन गरिएको छ ।  

६. क) बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण गर्ने भएको छ । त्यसका लागि क.खगराज अधिकारी संयोजक र सदस्यहरू क.डा. राजन भट्टराई, क.रमेश बडाल र क.हरि घिमिरे रहनुभएको कार्यदल गठन गरिएको छ । 
ख) त्यसैगरी, प्रतिष्ठानको कामलाई व्यवस्थित गर्न नियमावली निर्माणका लागि क.खगराज अधिकारी संयोजक तथा क.सीता गिरी, क.रमेश बडाल र क.शान्ति अधिकारी सदस्य रहनुभएको कार्यदल गठन गरिएको छ ।

ग) मनोनीत केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ । जस अनुसार, क.धर्मदत्त देवकोटा – सहइञ्चार्ज, बागमती प्रदेश,    क.ब्रिजेश गुप्ता– सहइञ्चार्ज, लुम्बिनी प्रदेश,    क.जीवन गौतम – सहइञ्चार्ज, लुम्बिनी प्रदेश र क.अमृतलाल राजवंशीलाई झापा जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिइएको छ । 

घ) २०७९ साल मंसिर ४ गते सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारी पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई प्रचलित निर्वाचन कानुनबमोजिम योग्य उम्मेदवारहरूको चयन गरी औपचारिक मनोनयन/ बन्दसूचीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीकोे तर्फबाट पार्टीको केन्द्रीय सचिवालयलाई दिने निर्णय गरियो । प्रचलित निर्वाचन कानूनबमोजिम औपचारिक मनोनयन–पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्न दलको केन्द्रीय कमिटीको तर्फबाट पार्टीका केन्द्रीय अध्यक्ष एवम् दलका प्रमुख पदाधिकारी क.केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरियो ।


केन्द्रीय कमिटीको चौथो बैठकले विभिन्न विषयमा समसायिक प्रस्ताव पारित गरेको छ । बैठकद्वारा पारित प्रस्ताव यस प्रकार छन्ः
१. यो बैठक आगामी २०७९ मंसिर ४ गते हुने निर्वाचनमा अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने संकल्पका साथ सिंगो पार्टी एकताबद्ध भएर होमिने प्रतिबद्धता व्यक्त गर्दछ र राजनीतिक स्थायित्वका लागि नेकपा (एमाले) का पक्षमा जनादेश दिन आम जनसमुदायमा आह्वान गर्दछ । 

२.आगामी २०७९ मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन साँचो अर्थमा जनमत संग्रहका रुपमा देखापर्दैछ । अग्रगमन, समृद्धि र राष्ट्रिय स्वाभिमानका पक्षधर शक्तिका विरुद्धमा बनिरहेका दृश्य र अदृश्य गठबन्धनहरुले यस निर्वाचनलाई झन् पेचिलो बनाउँदै लगेको छ । स्थापनाकालदेखि नै प्रतिक्रियावादीहरुका हरेक षड्यन्त्र र घेराबन्दीहरुलाई परास्त गर्दै मुलुक र जनताको पक्षमा दृढतापूर्वक उभिँदै यहाँसम्म आइपुगेको हाम्रो पार्टीले यस निर्वाचनमा हरहालतमा सफलता हासिल गर्नैपर्छ । जनविरोधी शक्तिलाई जनताका माध्यमबाट पराजित गर्न र मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउनका लागि हाम्रो सिंगो कार्यकर्ता पंक्ति अझ बढी सचेत, जुझारु र क्रियाशील हुन जरुरी छ । यो बैठक, आसन्न निर्वाचनमा पार्टीलाई बहुमतसहितको पहिलो शक्तिका रुपमा विजयी बनाउन लागि आ–आफ्नो कार्यक्षेत्रमा सक्रियतापूर्वक अहोरात्र खट्न हाम्रो पार्टीका सबै कमिटीहरु, नेता, कार्यकर्ता र जनसंगठनहरुलाई हार्दिक आह्वान गर्दछ ।

३. स्थानीय तह निर्वाचन जस्तै संविधानले किटानी व्यवस्था गरेको प्रदेशसभा र प्रतिनिधिसभाको आवधिक निर्वाचनलाई पनि समयमै नगर्नका लागि सत्तारुढ गठबन्धनले अनेक तिकडम ग-यो । निर्वाचनको घोषणा भइसकेपछि त्यसलाई प्रभावित पार्नका लागि राज्यशक्तिको दुरुपयोग गर्न सरकार सक्रिय छ । निर्वाचन घोषणा भइपछि स्वतः काम चलाऊमा रुपान्तरण भइसकेको सरकारलाई निर्वाचनलाई प्रभावित पार्ने र मुलुकलाई असर गर्ने गम्भीर प्रकृतिका कुनै पनि निर्णय गर्ने अधिकार छैन । तर, सामान्य लोकतान्त्रिक मर्यादाको पनि धज्जी उडाउँदै र अधिकारको दुरुपयोग गर्दै सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्नका लागि आफ्ना नातागोता पोस्ने, विभिन्न नियुक्ति गर्ने, सरुवा–बढुवा गर्ने, आफू अनुकूलका व्यक्तिहरुलाई ठेक्कापट्टा दिने र विदेशीसँग सम्झौता गर्नेजस्ता कतिपय गम्भीर निर्णयहरु गरिरहेको छ । यस सम्बन्धमा हाम्रो पार्टीका तर्फबाट गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण पनि गरिएको छ । अझै यस्ता कामहरु जारी रहेकोमा आपत्ति प्रकट गर्दै यो बैठक त्यस्ता क्रियाकलापहरु अविलम्ब बन्द गर्नका लागि सरकारलाई खबरदारी गर्दछ । साथै, निर्वाचनलाई स्वच्छ, मर्यादित, पारदर्शी र भयरहित बनाउनका लागि आवश्यक वातावरण निर्माण गर्न आग्रह गर्दछ । 

४.निर्वाचनलाई निष्पक्ष, स्वच्छ र मर्यादित बनाउनका लागि संविधानले नै व्यवस्था गरेको निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ । आफ्नो स्पष्ट संवैधानिक भूमिका निर्वाह गर्नबाट निर्वाचन आयोग चुक्दा सुरुदेखि नै समग्र निर्वाचन प्रक्रिया कमजोर हुन्छ । विगतका कतिपय सन्दर्भहरुमा निर्वाचन आयोगको भूमिका आफ्नो दायित्व अनुकूल नभएको अनुभव छ । यो बैठक, कुनै पक्षको दवाव र प्रभावमा नपरी संविधान र कानुनले निर्धारण गरेबमोजिमको निष्पक्ष र तटस्थ भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न निर्वाचन आयोगलाई आग्रह गर्दछ । 

५.महंगी र कालाबजारीले मुलुक आक्रान्त बनेको छ, आमनागरिकको दैनिक जीवन अत्यन्त कष्टकर बनेको छ । पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यबृद्धिले सबै क्षेत्र प्रभावित भएका छन् । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो भनेर रातारात मूल्यबृद्धि गर्ने सरकारले घटेर आउँदाचाहिँ घटाउने गरेको छैन । मूल्यबृद्धिको फाइदा निश्चित व्यापारिक समूहले कालाबजारीमार्फत् उठाइरहेका छन् । जनताको दैनिक जीवनमाथि गरिएको यसप्रकारको खेलवाडप्रति आपत्ति प्रकट गर्दै यो बैठक जनजीवन सहज बनाउने गरी मूल्य र कालाबजारी नियन्त्रण गर्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ । 
६.मुलुकमा भएका अनियमितता र कानुनविपरीतका क्रियाकलापहरु नियन्त्रण गर्ने जिम्मेवारी बोकेको सरकार स्वयम् राज्यलाई कमजोर बनाउने, निश्चित व्यापारिक घरानाका प्रतिनिधिहरु सामेल गरेर करका दरहरु निर्धारण गर्ने, राज्यको ढुकुटीमा प्वाल पार्ने र निश्चित व्यापारिक समूहहरुको स्वार्थपूर्ति गर्ने काममा व्यस्त छ । निश्चित व्यापारिक घरानालाई लक्षित गरेर नीति–नियम बनाउने सरकारको अत्यन्त आपत्तिजनक दुष्कर्मले मुलुकलाई क्रमशः माफियाकरणको बाटोतिर उन्मुख गराइरहेको छ । सरकारको संरक्षणमा भ्रष्टाचार, अनियमितता र सेटिङका ठूल्ठूला अनैतिक र आपराधिक कामहरु भइरहेका छन् । यस्ता अनैतिक र आपराधिक क्रियाकलापहरुको घोर भत्सर्ना गर्दै यो बैठक ती कुकर्महरु अविलम्ब रोक्न सरकारलाई खबरदारी गर्दछ । 


७.जनताको दैनिक जीवनसँग कुनै मतलब नभएको सरकार किसानका लागि अनिवार्य रासायनिक मल उपलब्ध गराउने आफ्नो न्यूनतम दायित्वबाट पूरै विमुख भएको छ । बर्षायाम सकिन लाग्दा पनि मल नपाएपछि किसानहरु मलबिना नै धान रोप्न बाध्य भएका छन् । 


शैक्षिक सत्र सुरु भएको आधा बर्ष पुग्न लाग्दा विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नसकेको छैन । हरेक बर्ष शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन्छ भन्ने थाहा हुँदाहुँदै सरकार कानमा तेल हालेर बसेका कारण अनिवार्य शिक्षा हासिल गर्ने अधिकारबाट हाम्रा बालबालिकाहरु विमुख हुने अवस्था उत्पन्न भएको छ । 


सरकारले कोरोना बीमाको रकम उपलब्ध नगराउने, स्वास्थ्य बिमा असफल पार्ने, सामाजिक सुरक्षा कार्यक्रम निस्प्रभावी बनाउने जस्ता कामहरु गरिरहेको छ ।


मिटरब्याजीको आतंकबाट पीडित मधेसका जनताले त्यसका विरुद्धमा निरन्तर आवाज उठाइरहँदा पनि सुनुवाइ भएको छैन र उल्टै उनीहरुमाथि ज्यादती गरिँदा पनि सरकार मौन छ ।
यो बैठक, सरकारको यस्तो नालायकीप्रति खेद प्रकट गर्दै सरकारलाई जिम्मेवार बन्न र आवश्यक व्यवस्था अविलम्ब मिलाउन माग गर्दछ । 


८.मुलुकको शैक्षिक वातावरण सुधार गर्न होइन, बिगार्न वर्तमान सरकार उद्यत छ भन्ने कुरा आफ्ना भातृसंगठन परिचालन गरी त्रिभुवन विश्वविद्यालयमा मच्चाएको अराजकताबाट पुष्टि हुन्छ । गठबन्धनको निर्देशन र सरकारको सुरक्षामा सरकारी पक्षले नै विश्वविद्यालयमा तालाबन्दी र तोडफोड गर्ने, पदाधिकारीहरुलाई काम गर्न नदिने, बैठक बस्न नदिने, फायल, माइन्युट र अन्य सरकारी कागजपत्र खोस्ने र पठनपाठन बन्द गराउनेजस्ता अशोभनीय कामहरु गरेर शिक्षा क्षेत्रमा अराजकताको नेतृत्व गरिरहेको छ । यो बैठक, विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक मर्यादामाथि हस्तक्षेप गर्दै सत्तापक्षबाट निरन्तर भइरहेका यस्ता क्रियाकलापप्रति गम्भीर आपत्ति प्रकट गर्दै यस्ता कामहरु अविलम्ब रोक्न चेतावनी दिन चाहन्छ । 


९.न्यून बर्षा, खडेरी र सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा कृषि उत्पादन घट्न गई मुलुकमा खाद्य सङ्कट उत्पन्न हुने खतरा बढेको छ । खासगरी खडेरीले तराई–मधेसका किसानहरुलाई थप मर्कामा पारेको छ । यसले कृषि उपजको बृद्धिमा प्रतिकूल प्रभाव पार्ने, खाद्यान्न र खाद्य वस्तुको आयातमा बृद्धि हुने र किसान अझ गरिब हुँदै जाने जस्ता अनेक नकारात्मक प्रभाव पार्ने निश्चित छ । यसबाट निकट भविष्यमा मुलुुकको अर्थतन्त्र प्रभावित हुनुका साथै मानवीय सङ्कट आउनसक्ने खतरातर्फ गम्भीरतापूर्वक ध्यान दिई समयमै खाद्य सुरक्षाको आवश्यक सजगता अपनाउन यो बैठक सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । 


१०. मुलुकको राजनीति दुई ध्रुवमा ध्रुवीकृत हुँदै गएको छः अग्रगमन वा यथास्थिति ? राष्ट्रिय स्वाभिमान वा आत्मसमर्पण ? समृद्धि वा अधोगति ? सबल नेतृत्व वा भागबण्डाको राजनीति ? निर्वाचनको संघारमा उभिएको बेलामा यस्ता गहन र दीर्घकालीन विषयमा गम्भीर बहस र निर्णय हुन अत्यन्त आवश्यक छ । यसका लागि राष्ट्रियता, लोकतन्त्र र समाजवाद पक्षधर व्यक्ति तथा शक्तिहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकता टड्कारो भएको छ । यो बैठक, राष्ट्रियता, लोकतन्त्र र अग्रगमन पक्षधर सबै व्यक्ति तथा शक्तिहरुलाई एकताबद्ध र ध्रुवीकृत हुँदै दक्षिणपन्थ र यथास्थितिवादका विरुद्धमा दृढतापूर्वक उभिन र त्यसका लागि सबल राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा (एमाले) मा गोलबन्द हुन आह्वान गर्दछ । 


११.सांस्कृतिक विविधता र परम्पराहरुले समृद्ध रहेको हाम्रो मुलुकमा महिलाहरुले मनाउने तीज पर्व नजिकै आएको छ । सांस्कृतिक पक्षका अलावा पारिवारिक र सामाजिक सद्भाव अभिवृद्धिका लागि हाम्रा पर्वहरुले सकारात्मक योगदान गरिरहेका छन् । यी सकारात्मक पक्षहरुलाई अझ उजागर गर्दै सामाजिक चेतना निर्माणमा यस्ता पर्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेका छन् । यो बैठक, आपसी सद्भाव अभिवृद्धिका साथै शोषण, उत्पीडन, अभाव र भेदभावका विरुद्ध सामाजिक जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तीज पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्दछ । साथै, यो बैठक थारु जातिको महत्वपूर्ण पर्व अटवारी र सुदूरपश्चिममा मनाइने गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दछ ।


१२.यो बैठक पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड इन्दिरा चापागाईं, रोल्पा जिल्ला कमिटी सचिव कमरेड निमप्रसाद रोक्का, कम्युनिस्ट योद्धा नानीमैयाँ नकर्मी र गण्डकी प्रदेश कमिटीका अध्यक्ष कमरेड नवराज शर्माका पिता यमलाल शर्माको निधनप्रति गहिरो दुःखका साथ श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७