पहिरोले बागलुङ-बेनी सडक अवरुद्ध, खोलाले बगाएर एक जना बेपत्ता


१२ भाद्र २०७९, आईतवार
pahiro baglung
फाइल फोटो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका-२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ-बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी-मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए । बेनी-मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारीलाई बागलुङ भएर सञ्चालन गरिएको थियो ।

हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो । बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिलालाई चोट लागेर घाइते भएका थिए । पहिरोले गुडिरहेका सवारीसाधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पुर्‍याएको छ ।

यसअघि खसेको पहिरो तत्कालै डोजर परिचालन गरेर हटाउने गरिए पनि शुक्रबार ठूलो ढिस्को खसेर सडकमा थुप्रिएको छ । हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत खबरा र हाडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ ।

खोलाले बगाएर बेपत्ता

म्याग्दीको बेनी नगरपालिका-४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

नदी किनारमा राईले लगाएको कपडा मात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासी समेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिए । म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७