मुख्य अभियुक्त ढकाललाई थुनामुक्त हुन विशेष अदालतले दिएन अनुमति


१२ भाद्र २०७९, आईतवार
shobhakanta dhakal

काठमाडौं । ललिता निवासको जग्गा घोटाला प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल थुनामै रहने भएका छन् । थुनामुक्तको माग गर्दै ढकालले दिएको निवेदनको सुनुवाइ गर्दै विशेष अदालतले आज (आइतबार) थुनामै राख्न आदेश दिएको हो ।

विशेष अदालतका न्यायाधीशद्वय बलभद्र बास्तोला र खुशीप्रसाद थारुको जलासले ढकाललाई थुनामै राख्न आदेश दिएको हो ।
ढकालले आफू ज्येष्ठ नागरिक समेत रहेको भन्दै मुलुकी फौजदारी अपराध संहिताको दफा ७८ बमोजिम थुनामुक्त हुनुपर्ने माग गरेका थिए । दफा ७८ मा अभियोग प्रमाणित भएमा हुनसक्ने अधिकतम कैदको सजायको अवधिभन्दा बढी अवधिसम्म थुनामा नराखिने उल्लेख गरिएको विषयलाई आधार बनाउँदै ढकालले रिट दायर गरेका थिए ।

तर, ढकाल कैद बसेको दुई वर्ष पनि नभएको भन्दै उनलाई थुनामुक्त गर्न नसकिने आदेश दिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिएका छन् । विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपका मुख्य अभियुक्त मानिएका ढकाललाई २०७७ माघ २८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश थियो । न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।

मुख्य बिचौलियाको भूमिका निभाएको आरोप लागेका ढकाल उक्त प्रकरणमा अनुसन्धान शुरु भएपछि फरार भएका थिए । म्याद जारी भएको करिब एक वर्षपछि विशेष अदालत हाजिर भएका उनलाई विशेषले थुनामा पठाउने आदेश जारी भएको थियो । ढकाल र रामकुमार सुवेदीले संयुक्त रुपमा उक्त जग्गा व्यक्तिको बनाउने कार्यमा मुख्य बिचौलियाको भूमिका निभाएको आरोप लागेको छ । सुवेदी लेखापढी व्यवसायी समेत भएकाले उनको सहयोगमा चलखेल सुरु भएको बताइएको छ ।

उनीहरुले समीरजंग कम्पनीका नामबाट व्यक्तिको नाममा मोही कायम गराउँदै सरकारी जग्गा व्यक्तिको बनाएको आरोप लागेको छ । ललिता निवास प्रकरणमा छानबिन र बयान गर्दा अधिकांश प्रतिवादीहरूले ढकालको नाम लिएका थिए । ढकालले आफू, श्रीमती र छोराछोरीको नाममा समेत बालुवाटारको जग्गा राखेको पाइएको थियो । उनले उक्त जग्गा राखेर आईएमई इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋण समेत लिएका थिए । त्यस्तै सोही स्थानको सन्दीप ढकालका नामको जग्गा राखेर यति विकास बैंकबाट ४९ लाख रुपैयाँ ऋण लिइएको पाइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा दायर गरेको अभियोगपत्रमा शोभाकान्तकी श्रीमती उमासँग ९१ लाख २० हजार र ढकालसँग २९ करोड २७ लाख ९८ हजार बिगो मागदाबी गरिएको छ । ढकालले यसरी व्यक्तिगत बनाएको सम्पत्ति बिक्री गर्नेदेखि बकसमा दिनेसम्मका कार्य गरेको अभियोगपत्रमा उल्लेख छ । ढकालले नै सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरालाई जग्गा बिक्री गरेका थिए । यो प्रकरणमा ढकालसँग पौडेलसमेत जोडिएपनि उनीविरुद्ध मुद्दा दायर भएन ।

जग्गा फिर्ता र भ्रष्टाचार अभियोगमा संलग्न गरी १७५ जनालाई विपक्षी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। अख्तियारले ११० जनालाई आरोपितका रूपमा र ६५ जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाएको थियो ।

आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद-बिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो। यसरी मुद्दा दायर हुने उच्च राजनीतिक व्यक्ति नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार थिए । उनी विशेषबाट धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७