सिट बाँडफाडमा सकस : सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन


१२ भाद्र २०७९, आईतवार
Gathbandhan Top five leader of nepal

काठमाडौं : सिट बाँडफाडमा सहमति नभएपछि सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो ।

सिट बाँडफाडमा ५ दलले आ–आफ्नो अडान नछोडेपछि बैठकमा कुनै सहमति नभएको कार्यदलको एक सदस्यले बताए । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको थिए । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थिए । आइतबार पनि ५ दल नै यो दाबीबाट पछि नहटेको कार्यदलका एक सदस्यले बताए ।

कार्यदलका एक सदस्य अनुसार कार्यदलको बैठक सहमति तिर भन्दा विवादतिर उन्मुख भएको छ । ती सदस्य भन्छन्, ‘सबै दल आ–आफ्नो दाबी र अडानबाट ठसमस छैनन् । सहमति होइन विवादतिर उन्मुख छ ।’

नेपाली कांग्रेसले एक्लै बहुमत पुग्ने गरी सिट दाबी गरेको कारण समस्या भएको ती सदस्यको भनाई छ । यसको संकेत आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गरेका छन् । उनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् ।

कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा ६५ सिटभन्दा बढी दिन नसकिने भनिरहेका बेला प्रचण्डले त्यस्तो परिस्थितिमा वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् ।

माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै उनले कांग्रेसभित्र विभिन्न विचार आइरहेको कुरा उल्लेख गर्दै त्यस्तो परिस्थितिमा के गर्ने भन्ने विकल्पबारे पनि सोच्नुपर्ने बताए ।

‘अध्यक्ष प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अहिलेको पाँच दलीय सत्तारुढ गठबन्धन एकढिक्का भएर जान्छ भन्नुभएको थियो,’ उनले थपे, ‘कांग्रेसले मानेन, गठबन्धनमा शक्तिको सही पहिचान गर्न मन गरेन भने हामीले वाम गठबन्धनलाई अगाडि बढाएर राम्रै परिणाम ल्याउन सक्छौं भन्नुभएको थियो । सत्तारुढ गठबन्धन भित्रका वामपन्थी दलहरू मिल्दा पनि हाम्रो नराम्रो परिणाम आउँदैन भन्ने उहाँको कुरा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७