के बालेनको अभियानमा सुनिताको साथ छैन ?


१२ भाद्र २०७९, आईतवार
Sunita Dangol
फाइल फोटो

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यतिबेला चर्चामा छन् । अनधिकृत संरचना हटाउन बालेन दैनिक आफै मैदानमा छन् । सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत संरचना र नक्सा स्वीकृती गर्दा भूइँ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएर पछि व्यापारिक प्रयोजनमा लगाएकोलाई हटाउने अभियानमा उनी छन् ।

मेयर शाहको पक्ष र विपक्षमा बहस भइरहेको बेला उनले ‘बेसमेन्टमा व्यापार गैरकानुनी हुने र अटेर गर्ने दण्डित हुने’ दृढता व्यक्त गरेका छन् । तर यो अभियानमा काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल देखिएकी छैनन् । मेयर शाहको कदमको पक्षमा उनी नभएको समाचारहरु पनि सार्वजनिक भएको छ ।

तर डंगोललले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङ्ग प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने अभियानमा आफू रहेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु । काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेण्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु ।’

उनले केही सञ्चार माध्यमले भ्रमपूर्ण समाचार दिएको भन्दै आपत्ती समेत जनाएकी छिन् । ‘पछिल्ला दिनमा मुख्य गरेर केही अनलाईन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियान (बेसमेन्टलाई पार्किङ् प्रयोजनमा ल्याउने) सँग मलाई जोडेर आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी सम्प्रेषण भएका समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ ।’ उनले भनेकी छिन्, ‘पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ । पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका ३ सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन । यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७