रियल र बार्साको जीतमा बेन्जेमा र लेवान्डोस्की बने नायक


१३ भाद्र २०७९, सोमबार
126475270 gettyimages 1242789559 UgnfpK7uGi

काठमाडौं । करिम बेन्जेमाको दुई गोलको मद्दतले एस्पानियोललाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगामा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ । आइतबार राति भएको खेलमा साबिक विजेता रियल ३-१ गोल अन्तरले विजयी भएको हो ।

खेलको १३ औं मिनेटमा नै भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा जोसेलुले एस्पानियोलका लागि बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा बेन्जेमाले खेलको ८८ औं मिनेट र इन्जुरी समयमा गोल गर्दै रियललाई जीत दिलाए । इन्जुरी समयमा एस्पानियोल १० खेलाडीमा सीमित बनेको थियो ।

३ खेलमा ३ जीतसँगै रियल ९ अंक बटुलेर लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । एस्पानियोल लिगको १६ औं स्थानमा सीमित छ ।

आइतबार नै भएको अन्य खेलमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की नायक बने । उनको दुई गोलको मद्दतले बार्साले रियल भालाडोलिडलाई ४-० गोलले हरायो । खेलको २४ औं मिनेटमा लेवान्डोस्कीले बार्सालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा पेड्रीले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा लेवान्डोस्की र सर्जी रोबेर्टोले एक-एक गोल थप्दै टोलीलाई सहज जीत दिलाए । ३ खेलबाट ७ अंक बटुल्दै बार्सा लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७