राष्ट्रपतिलाई देउवाको जवाफ : अध्यादेशकै आधारमा नागरिकता विधेयक ल्याएका हौं


१३ भाद्र २०७९, सोमबार
bhandari deuwa vet

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । कांग्रेस पदाधिकारीसहित सोमबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले धेरै नेपालीहरु नागरिकताविहीन भएको भन्दै प्रमाणीकरण गर्न अनुरोध गरेका हुन् ।

संसदको दुवै सदनबाट पास भएर प्रमाणीकरणका लागि शीतल निवास पुगेको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन् । सुरक्षाको दृष्टिकोणलाई समेत मध्यनजर गर्दै उक्त विधेयकमा पुनः छलफल आवश्यकता रहेको उनले सन्देशमा भनेकी थिइन् ।

तर प्रतिनिधिसभाले उक्त विधेयकलाई पुनः जस्ताको तस्तै पारित गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागपछि मतविभाजन गरिएको उक्त विधेयक पुनः बहुमतका साथ पारित भएको थियो । नागरिकता विधेयक यतिबेला राष्ट्रियसभाअन्तर्गतको विधायन समितिमा छलफलका लागि पठाइएको छ । राष्ट्रियसभाले छलफल आवश्यक रहेको भन्दै उक्त विधेयक विधायन समितिमा पठाएको हो ।

छलफलपछि सरकारका प्रवक्ता समेत रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकताबारे राष्ट्रपति भण्डारीका जिज्ञासालाई आफूहरुले प्रष्ट्याएको प्रतिक्रिया दिए । ‘उहाँका नागरिकता सम्बन्धमा केही केही जिज्ञासाहरु थिए । राजनीति, चुनाव यिनै कुराबारेमा छलफल भयो । हामीले यसबारे प्रष्ट पार्‍यौं,’ उनले भने, ‘विगतमा केपी ओली सरकारले अध्ययादेश ल्याएको थियो । त्यही अध्यादेशअनुसार नै विधेयक अहिले पार्लियामेन्टले पास गरेको हो ।’

छलफलका क्रममा राष्ट्रपति भण्डारीले मंसिर ४ का लागि तय गरिएको संघीय र प्रादेशिक निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको कार्कीको भनाइ थियो । ‘राष्ट्रपतिले चुनाव निष्पक्ष रुपले सम्पन्न होस् भन्नु भयो,’ उनले भने ।

यता राष्ट्रपति भण्डारी प्रतिनिधिसभाबाट जस्ताको तस्दै विधेयक पास भएपछि रुस्ट बनेको शीतल निवास स्रोतको दाबी छ । पछिल्लो समय राष्ट्रपति भण्डारीले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएकी छन् । कानुनविद्हरुसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनाका उच्च अधिकारीहरुसँग छलफल गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७