आज हरितालिका तीज, देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड


१४ भाद्र २०७९, मंगलवार
teej festival pashupatinath 1

काठमाडौं । हरितालिका तीज आज (मंगलबार) मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजा आराधना गरी तीज मनाउने परम्परा छ । आज व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् ।

तथापि, आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।

अघिल्लो दिन राति दर खाएर आज तिजको दिन व्रत बसेर शिव-पार्वतीको पूजा गर्ने चलन छ । आज नाचगान गर्ने पनि चलन छ । आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी महादेवलगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तिज पर्व समापन हुन्छ ।

नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सु-स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासकासाथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७