ड्रागन फ्रुटबाट वर्षमा करोड आम्दानी


१४ भाद्र २०७९, मंगलवार
dragon fruit
फाइल फोटो

मोरङ । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्- मोरङ सुनवर्सी नगरपालिका-१ का गणेश राई। बन्दाबन्दीको असरले निर्माण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइ-नभ्याइ छ ।

राईले दुई वर्षअघि ठूलो चुनौती मोलेर एक करोडको लगानीमा फार्म सञ्चालनमा गरेका थिए । विसं २०७७ मा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेका उनले एक वर्षमै बिरुवा बेचेर लगानीसमेत उठाइसकेका छन् ।

तीन महिनासम्म १५-२० कामदार लगाएर रोपेको तीन हजार दुई सय पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ । राईको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल) को ड्रागनफ्रुट लटरम्मै फलेको छ । दुई वर्षअगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उनले सोचेकै थिएनन् । राईले आफ्नै तीन बिघा क्षेत्रफलमा रु एक करोडभन्दा बढीको लगानी गरेका थिए । उक्त ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो । एक पोलबाट वार्षिक एक सय ५० केजी फल फल्ने राईको भनाइ थियो ।

स्वादिलो तथा पोषिलो यो फलको यतिबेला बजारममा राम्रै माग छ । वार्षिक ठूलो संखयामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ । राईले यो याममा मात्र ११ हजार केजी फल र २८ हजार बिरुवा बेचेका छन् । बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी रु सात सय ५० पर्छ भने बिरुवाको रु दुई सय ५० पर्ने गरेको छ । दैनिक ६ कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त राईले एकै याममा १५-१६ पटक फल दिने गरेको र अझै पाँच हजार केजी फल बेच्ने आशा लिएको बताए ।

किसानले यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गरिरहेका छन् । एकपटक लगानी गर्दा कम्तीमा २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ । ड्रागनफ्रुटसँगै भित्रभित्र बुटेखेती गर्न सकिने भएकाले नगदे बालीले समेत स्थान पाएको छ ।

सानो क्षेत्रफलमा थोरै लगानीबाट पनि यो व्यावसायिक खेती गर्न सकिने भएकाले सहर बजारका मानिसले समेत कौशी र करेसाबारीमा यो फल रोप्ने गरेका छन्। कृषकको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि हुने देखिएको छ । सरकारले ड्रागनफ्रुट खेतीमा युवालाई आकर्षण गर्न सके आफ्नै देशमा व्यवसाय र रोजगार बढ्ने तथा युवा विदेशिनुपर्ने समस्या घट्ने देखिन्छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७