प्रधानमन्त्री देउवासँग पत्रकार महासंघका पदाधिकारीको भेट


१४ भाद्र २०७९, मंगलवार
deuwa scaled

काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ ।

महासङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुङ्गोमा पुर्‍याउनका लागि पहल गर्न आग्रह गरेको हो । भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन सञ्चारसम्बन्धी ती कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासङ्घले जोड दिएको छ ।

अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएको भन्दै महासङ्घले चिन्ता प्रकट गरेको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले महासङ्घले उठाएका र राखेका मागहरूलाई सकारात्मकरूपमा लिई तत्काल टुङ्गोमा पुर्‍याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेलिफोनमार्फत निर्देशन दिएका थिए ।

भेटमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए । महासङ्घले प्रतिनिधिसभा अवधि समाप्त हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुङ्गोमा पुर्‍याउन सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७