सिर्जनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला


१५ भाद्र २०७९, बुधबार
IPO

काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्कासन आज (बुधबार) बाट बिक्री खुला भएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन आजबाट गरेको हो ।

निष्कासन गरिएको कुल शेयरमध्ये पाँच हजार ४७० कित्ता कर्मचारीहरूका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएका छ ।

आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक व्यक्तिले मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले लघुवित्तलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

आर्थिक वर्ष २०७७/७८ को वास्तविक वित्तीय विवरणानुसार कम्पनीको सञ्चित नाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । उक्त वित्तीय विवरणानुसार प्रतिशेयर आम्दानी ९३ रुपैयाँ ९१ पैसा छ । प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ छ ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ३०२ देखि ९०६ रुपैयाँसम्म मूल्य रेन्ज पाउने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कुनै पनि कम्पनीलाई धितोपत्र दोस्रो बजारमा कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।

यो कम्पनीको रजिस्टर्ड कार्यालय सिरहाको गोलबजार नगरपालिका-७, चोहर्वामा छ । हाल कम्पनीले १० जिल्लामा ३३ शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । हाल कम्पनीको चुक्ता पुँजी सात करोड रुपैयाँ छ । आईपीओ जारी गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७