अन्नबालीबाट राम्रो कमाई नभएपछि तरकारी खेती


१५ भाद्र २०७९, बुधबार
tarkari

तेह्रथुम । धनकुटाको महालक्ष्मी नगरपालिकाका किसानले तरकारी खेतीबाट मात्रै वार्षिक लाखौ आम्दानी लिँदै आएका छन । महालक्ष्मी-१ की रेनुका कटुवालले पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष ६ लाख आम्दानी लिने लक्ष्य उनले लिएकी छन् ।

परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका किसानहरूको गतिलो आर्थिक स्रोत नै तरकारी खेती बन्दै आएको छ ।

गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै तरकारी खेती फस्टाएको छ । केही वर्षअघिसम्म पसल गर्दै आएका उनले पसल नचलेपछि तरकारी खेती रोजेकी हुन् । उनी भन्छिन्, ‘पहिले हामी पसल चलाउँथ्यौं, तर पसल चलेन त्यसपछ ितरकारी खेती थालेका हौं । तरकारी खेतीबाट यो लाख ६ लाख आम्दानी लिने लक्ष्य छ । हामीले उत्पादन गरेको तरकारी व्यापारीले बारीबाटै लान्छन् बेच्नलाई समस्या छैन । यसपालि तरकारीको बजार पनि राम्रो भएकाले सोचजस्तो आम्दानी हुन्छ भन्नेमा ढुक्क छु ।’

उनी जस्तै जितबहादुर अधिकारी विगत ३० वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । अधिकारीलाई तरकारी खेती गर्न यतिबेला भ्याइनभ्याई बनेको छ । कोसी राजमार्गसँगै जोडएको यो गाउँ तरकारी खेतीले बाह्रैमास हरियाली हुन्छ । ‘कुनैकुनै साल तरकारीको भाउ नहुँदा मात्रै समस्या हुन्छ हामीलाई । बजारको समस्या छैन अन्नबालीले हाम्रो श्रम र मेहनत मै नउठ्ने भएपछि तरकारी खेती रोजेका छौ । तरकारी खेतीले हाम्रो घरपरिवार चलाउन सहज मात्रै बनेको छैन राम्रो आम्दानी लिँदै आएका छौं,’ उनले भने ।

अधिकारीले तरकारी बिक्रीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिँदै आएका छन् । कटुवाल र अधिकारी जस्तै यहाँका किसानहरू तरकारी खेतीबाटै वार्षिक लाखौ आम्दानी लिँदै आएका छन् । तरकारीको जोन क्षेत्रको रूपमा रहेको यस क्षेत्र मल बीउको भने समस्या हुँदै आएको किसान उद्धबमणि रायमाझीले भनाइ छ ।

‘तरकारीको जोन क्षेत्र भए पनि हामीलाई मल र बीउको समस्या छ । किसानहरूको समस्यालाई सरकारले पनि चासो नदिँदा हामीले चाहे जस्तो तरकारी उत्पादन गर्न सकेका छैनौं,’ रायमाझीले भने । यहाँ काउली, बन्दा, मुला, गाँजर, आलु,मोटरकोसालगायतका तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानहरूमा निर्यात हुँदै आएको छ । किसानले एक रोपनीदेखि ५० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७