जसपा अध्यक्ष यादवको नाम सिरहा १ र २ बाट सिफारिस


१५ भाद्र २०७९, बुधबार
upendra yadav 1

सिरहा । प्रतिनिधिसभा निर्वाचन उम्मेदवारका लागि सिरहा क्षेत्र नम्बर १ र २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरिएको छ ।

जसपा क्षेत्रीय समितिको बुधबार बसेको बैठकले पहिलो नम्बरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिसमा परेको क्षेत्रीय कार्यसमिति सचिव एवं जिल्ला सदस्य राकेशकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार २०६३ को मधेस आन्दोलनको उद्गमस्थल लहान भएको र त्यही भावनाअनुरुप राष्ट्रिय अध्यक्षको उम्मेदवारी यही क्षेत्रबाट हुनुपर्ने पार्टीका नेता, कार्यकर्ताको माग आएपछि उनको नाम सिफारिस गरिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि पार्टी अध्यक्षको नाम आएपछि २०७४ को निर्वाचनमा पराजित राजलाल यादवले अध्यक्षका लागि दाबी छाड्दै प्रदेशसभा सदस्य ‘ख’बाट उम्मेदवारी घोषणा गरेका छन् । प्रदेशसभा सदस्य उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको छ । २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका राजलाल यादव १३ हजार ३ सय ५१ मतसहित तेस्रो स्थानमा थिए ।

कांग्रेसका प्रदीप गिरी २३ हजार ९५१ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वीमा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरेका थिए । ‘प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अध्यक्षको नाम आएपछि मैलै प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दाबी छाडे,’ जसपा केन्द्रीय परिषद सदस्य समेत रहेका राजलाल यादवले भने, ‘उहाँका लागि ठाउँ खाली गर्दै प्रदेशसभा सदस्यको उम्मेदवारी दाबी गरेको हुँ ।’ जनता समाजवादी पार्टीको सिरहा क्षेत्र नम्बर १ क्षेत्रीय समिति बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवसहित राकेशकुमार गुप्ता, मुरारीप्रसाद साह, राजेन्द्रप्रसाद यादव र दिनेश्वरप्रसाद गुप्ताको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, सिरहा क्षेत्र नम्बर १ (क) को उम्मेदवारका लागि जितेन्द्रप्रकाश महतो, बैजनाथप्रसाद साह, दिनेश यादव, चन्द्रनारायण कुशवाहा, उपेन्द्र सिंहको नाम सिफारिस गरेको छ । त्यसैगरी सिरहा क्षेत्र नम्बर १ (ख) को उम्मेदवारका लागि केन्द्रीय परिषद् सदस्य राजलाल यादव, केन्द्रीय सदस्य राजकुमार गुप्ता, केन्द्रीय राजनीतिक समिति सदस्य विजय राय दनुवार, रामवल्लभ साह, दिपेन्द्रप्रसाद यादवको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, सिरहा क्षेत्र नम्बर २ बाट समेत जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम उम्मेदवारीका लागि सिफारिस भएको छ । जनता समाजवादी पार्टी सिरहाका सहसचिव लालबहादुर साहले कार्यकर्ता पंक्तीबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव र शत्रुघनप्रसाद सिंह कोइरीको नाम आएपछि उम्मेवारीका लागि सिफारिस गरिएको जानकारी दिए । क्षेत्रबाट आएका उम्मेदवारको सिफारिस नामावली जिल्लामा प्राप्त भएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७