पूर्वप्रधानन्यायाधीशले न्यायपालिकामा भाग खोज्छन्, नदिए सिध्याउन लाग्छन् : जबरा


१५ भाद्र २०७९, बुधबार
cholendra shumsher jb rana

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा भाग खोजेको आरोप लगाएका छन् । प्रधानन्यायाधीबाट निवृत्त भइसकेपछि पनि अदालतमा भाग खोजेको र आफूले नमानेपछि आफूलाई सिध्याउन लागेको उनको आरोप छ ।

महाभियोग सिफारिस समितिको बुधबारको बैठकमा बयान दिने क्रममा जबराले पूर्वप्रधानन्यायाधीशले आफ्नो मान्छेलाई न्यायाधीश बनाउन, कर्मचारी सरुवा बढुवाका लागि दबाब दिने गरेको र त्यसो नगरेमा जसरी हुन्छ त्यसरी सिध्याउन खोज्ने प्रवृत्ति रहेको बताए ।

आफूले भाग नदिएपछि पूर्वप्रधानन्यायाधीशहरू आन्दोलनमा लागेको पनि जबराको भनाइ थियो । ‘पूर्व प्रन्याले रिटायर भएपछि पनि आफ्नो भाग खोज्नुहुन्छ, आफ्नो मान्छे न्यायाधीश, कर्मचारी सरुवा बढुवामा भाग माग्नुहुन्छ । नदिए हामीलाई कसरी सिध्याउन सकिन्छ त्यसरी लाग्नुहुन्छ । विभिन्न कोणबाट न्यायपालिकालाई डिक्टेड गर्नुहुन्छ, कर्मचारीदेखि हरेक कुरा चलाउन खोज्नुहुन्छ ।’

‘महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो’

जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसकेको बताए । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले विभिन्न आरोपसहित जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसपछि प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बुधबार उनको बयान लिएको हो । 

समितिलाई बयान दिनेक्रममा जबराले महाअभियोग स्वतः निस्क्रिय भएको र आफू संसदको सम्मानका लागि मात्र आएको जवाफ दिएका हुन् । 

आफूलाई बयानमा बोलाउँदा संविधान र संसदको निमावली पालना नगरेको बताउँदै उनले महाअभियोग प्रस्ताव निस्क्रिय भइसकेको जिकीर गरे । साथै आफू पछिका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव दर्ता गरेको उनको आरोप छ । 

दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका जबराले यस्ता घटनाले न्यायपालिका कमजोर हुने बताए । 
 

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्यायसम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए । जबरा कडा ढंगले प्रस्तुत भए । उनले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसदको गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको बताए । 

जबराले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेकोसमेत दाबी गरे । उनले न्यायाधीश हरिकृष्ण कार्कीले स्वार्थ मिलेका मुद्दा मात्र हेर्ने गरेको, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश बनाउन दबाब दिएको, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश बन्ने इच्छा देखाएको, शम्भु थापाले न्यायाधीशलाई वकिलले घुस खुवाउँछन् भनेर बोलेको, बारका पूर्वमहासचिव लीलामणि पौडेलले न्यायाधीश बनाइदिन आफूलाई चेम्बरमै आएर भनेको छताछुल्ल पारिदिए ।

महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरी जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो । उनीविरुद्ध गत १ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७