खेलप्रति आकर्षण छ, पूर्वाधार छैन


१६ भाद्र २०७९, बिहीबार
202209011258 9013c220 0acf 41c9 aeea 87d13212ec7f medium

तनहुँ । तनहुँको व्यास नगरपालिका-४ निवासी इन्द्र गुरुङको आधा जीवन फुटबल खेलेरै बित्यो । उनी सानै हुँदादेखि फुटबल खेल्थे । उनले खेल्न सुरु गरेदेखि नै जिल्लामा व्यवस्थित खेल मैदान थिएन । उमेरले ३५ पुगेका उनी जिल्लामा हालसम्म पनि व्यवस्थित खेल मैदान नबन्दा निराश छन् ।

गुरुङ हाल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट मान्यताप्राप्त रेफ्रीको भूमिका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने फुटबल खेलमा उनले रेफ्रीको भूमिका निभाइरहेका छन् ।

‘म पूर्व खेलाडी र फुटबललाई एकदमै माया गर्ने मान्छे, आधा जीवन फुटबलमै गयो, न आफू खेल्दा राम्रो मैदानमा खेल्न पाइयो न त अहिलेका खेलाडीले राम्रो मैदानमा खेल्न पाएका छन्’, गुरुङ भन्छन्, ‘न पहिला न अहिले, न हिजो न आज खेलसँग सम्बन्धित निकायले खेल मैदानलाई अनि खेलाडीलाई वास्ता नगरेको देख्दा नरमाइलो लाग्छ ।’

आफूले पनि राम्रो खेल मैदानमा खेल्न नपाएको र अहिलेका खेलाडीले पनि राम्रो खेल मैदानमा खेल्न नपाएकामा उनको गुनासो छ । ‘जिल्लामा फुटबलप्रति एकदमै आकर्षण छ, तर खेल्ने वातावरण छैन, सम्बन्धित निकाय किन हो कुन्नी कानमा तेल हालेर बसेको छ’, उनले प्रश्न गरे, ‘व्यवस्थित रङ्गशाला बनाउन केले छेकेको रहेछ ?’
खेलाडी अनि खेल मैदानका लागि भन्दा पनि पार्टीगत हिसाबले काम गर्ने प्रवृत्ति रहेको गुरुङको आरोप छ । ‘खेलाडीलाई प्रोत्साहन गर्ने परम्परा नै छैन’, उनले भने, ‘त्यसो भएपछि कसरी खेलकुद र खेलाडीको विकास हुन्छ ।’

जिल्लामा व्यवस्थित रङ्गशाला नहुँदा जस्तोसुकै खेल मैदानमा पनि खेल खेलाउनुपर्ने बाध्यता छ । व्यास-३ स्थित खुला मैदानमा कयौ वर्ष फुटबल प्रतियोगिता भए । अहिले यो मैदानलाई नगरपालिकाले पार्क बनाउन लागेको छ । यसको विकल्पमा विपी वनवाटिकामा खेल सञ्चालन हुँदै आएको छ । फुटबल खेलाडी प्रेम आलेमगरले व्यवस्थित मैदानको अभावमा फुटबल खेलाडीले सीप सिक्न नपाएको बताए ।

भलिबलका खेलाडी एवं प्रशिक्षक पदम सुनार जिल्लामा भलिबलको राम्रो सम्भावना भए पनि पूर्वाधार अभावका कारण खेलाडीले राम्रो गर्न नसकेको बताउँछन् । ‘जस्तो छ त्यस्तैमा खेलाडीले प्रशिक्षण गर्नुपर्ने अवस्था छ, अनि कसरी खेलाडीको सीप विकास हुन्छ ?’, उनले भने । व्यास-२ निवासी खेलप्रेमी विवेक भट्टराईले व्यवस्थित खेलमैदान नहुनु दुःखद् रहेको बताए । ‘सदरमुकाममै व्यवस्थित खेल मैदान नहुनु दुःखद पक्ष हो, यो वा त्यो भन्नै पाइँदैन, सरोकारवालाहरुले जिम्मेवारी लिनुपर्छ’, उनी भन्छन् ।

दमौलीकै खेलप्रेमी अन्जिपकुमार श्रेष्ठले भएको खेल मैदानलाई व्यवस्थित गराउनुभन्दा पार्क बनाइएको भन्दै गुनासो गरे । अर्का युवा किरण श्रेष्ठले व्यवस्थित खेलमैदान बनाउन यतिसारो किन गाह्रो भएको भन्दै सरोकारवाला निकायलाई प्रश्न गरे । व्यास-१३ का मेघनाथ आचार्य व्यवस्थित खेलमैदान निर्माणका लागि सबैले दबाब दिनुपर्ने बेला आएको बताउँछन् ।

केही दिन अगाडि दमौलीस्थित विपी वनवाटिकामा प्रथम मेयरकप फुटबल प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडी खेल खेल्न आए । कुनै टिममा त विदेशी खेलाडी पनि थिए । विपी वनवाटिकास्थित खेलमैदान पानी परेपछि हिलाम्य भयो । हिलाम्य खेलमैदानमै खेल सञ्चालन गर्न आयोजक बाध्य भयो । ‘हिलै हिलो भएको खेल मैदानमा खेल्नुपर्दा खेलाडीलाई कस्तो भयो होला ?’, म्याग्दे गाउँपालिका-७ हर्षपुर घर भई हाल व्यास-३ बस्ने मोहन बरालीले भने, ‘जिल्लामा त राम्रो खेलमैदान नै छैन भन्ने छाप खेलाडीमा पर्‍यो ।’

केही दिन अगाडि जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट गर्‍यो । समितिका अध्यक्ष अनिल पाण्डे पूर्वाधार अभावकै बीचमा खेल सञ्चालन गरेर खेलाडी छनोट गर्न बाध्य भएको बताए । ‘खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको छ, खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका लागि कभर्डहल छैन, भलिबल कोर्ट छैन’, पाण्डेले भने ।

विपी वनवाटिकास्थित खेलमैदानमा रङ्गशाला बनाउने कुरा चलेको धेरै भयो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त खेल मैदान नगरपालिकालाई हस्तान्तरण गरिएको छ । रङ्गशाला बनाउने चर्चा त्यत्तिकै सेलाएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलप्रति आकर्षण बढे पनि खेल मैदान नहुँदा समस्या भएको बताए । ‘खेलकुद मैदानलाई व्यवस्थित गर्नेतर्फ जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ’, उनले भने ।

नगरपालिकाले भने विपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित गराउनेतर्फ गम्भीर रहेको बताएको छ । नगरपालिकाका प्रवक्ता एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले उक्त खेल मैदानलाई खेल खेल्न सक्ने बनाइने बताए । ‘यो मैदानलाई व्यवस्थित गराउनकै लागि बीचमा रहेको कभर्डहल सारेका छौं’, उनले भने । कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७