सिट बाँडफाँटमा प्रारम्भिक सहमति : कांग्रेस ८६, माओवादी ४७, समाजवादी १८, जसपा १३


१६ भाद्र २०७९, बिहीबार
Gathbandhan Top five leader of nepal

काठमाडौं । पटक-पटकको छलफल र वैठकपछि सत्तारुढ गठबन्धन दलहरु सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् ।
पाँच दलले प्रत्यक्षतर्फका १६५ सिट बाँडफाँटमा लगभग सहमति गरेको स्रोतले जानकारी दिएको छ । प्रारम्भिक सहमति भए पनि पूर्ण खाका सार्वजनिक भइसकेको छैन ।

शीर्ष नेतातहरुसहित बिहीबार बिहान ११ बजेदेखि बसिरहेको कार्यदलको बैठक अहिलेसम्म बालुवाटारमा जारी छ । स्रोतका अनुसार यो बैठकमा नेपाली कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा एक सिट लिने लगभग समझदारी जुटेको छ ।

एक नेताले दिएको जानकारी अनुसार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहमति जुटाएको सिट संख्यालाई कार्यदल बैठकले अन्तिम रुप दिँदैछ ।

‘सय सिट दाबी गरेको कांग्रेसले सहमतिका लागि हदैसम्मको लचकता अपनाएको छ’, कार्यदलका एक सदस्यले भने, ‘उसले ८५ देखि ८६ सिट लिन्छ । माओवादी केन्द्र ४५ देखि ४७, एकीकृत समाजवादी १५ देखि १८ र जसपा १२ देखि १३ सिट लिन्छ । राष्ट्रिय जनमोर्चालाई १ सिट दिनेगरी समझदारी बनेको छ ।’

यो संख्यामा केही फेरबदल हुनसक्ने सम्भावना पनि छ । शीर्ष नेताहरुले संख्या टुंगो लगाएर कार्यदललाई जिम्मा दिएका छन् ।
‘हामीले सय सिट लिएर ५० सिट जित्नुभन्दा ८५ सिट लिएर कम्तीमा ८० सिट जित्नु राम्रो हो भनेर प्रधानमन्त्रीले कार्यदलमा रहेका नेताहरुलाई सुझाव दिनु भएको थियो’, बालुवाटार स्रोतले भन्यो, ’त्यहीअनुसार कार्यदलमा छलफल भएर सहमति जुटाउन लागिएको हो ।’ सिट संख्या टुंगो लगाएपछि फेरि कार्यदलले निर्वाचन क्षेत्रका विषयमा छलफल गर्नेछ । निर्वाचन क्षेत्र पनि यसैगरी सहमतिको आधारमा बाँडफाँट गर्ने ती नेताले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७