अलैंची विकास केन्द्रमै अकबरे खुर्सानीको बीउ उत्पादन


१७ भाद्र २०७९, शुक्रबार
akabare khursani
फाइल फोटो

इलाम । अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीको बीउ उत्पादन थालेको हो ।

इलाममा व्यावसायिक खेती हुने अकबरे खुर्सानीको बिरुवा माग बढेपछि बिरुवा उत्पादन सुरु गरिएको कार्यालयका सूचना अधिकारी दिलबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल डेढ रोपनी जमिनमा बिरुवा उत्पादन गरिँदै आएको छ । नेपालको इलामसहित पूर्वी भागमा व्यावसायिक खेती हुँदै आएको अकबरे खुर्सानी बिरुवाको माग अत्यधिक छ ।

माग बढेपछि केन्द्रले अलैँचीसहित खुर्सानीको पनि बीउ उत्पादन सुरु गरेको श्रेष्ठ बताउँछन् । केही समयअघि पूर्वी नेपालमा बढी उत्पादन हुने अकबरे हाल पश्चिमका जिल्लामा समेत उत्पादन हुन थालेको छ । किसानले गर्ने गरे पनि पहिलो पटक सरकारी निकायले पनि बीउ उत्पादन थालेको हो । व्यावसायिक खेतीका लागि अकबरे खुर्सानीको बिरुवा र बीउको माग धेरै भएकाले अलैँची विकास केन्द्रले उत्पादन गर्न थालेको जनाइएको छ ।

सूर्योदय नगरपालिकामा स्थापना भएको अलैँची विकास केन्द्रले यसअघि अलैँचीका बिरुवा मात्रै उत्पादन गर्दै आएको थियो । अलैँचीका बिरुवाको खरिद गर्ने स्थानीय तह र किसानले खुर्सानीको बीउसँगै बिरुवाको समेत माग गर्न थालेपछि केन्द्रको फार्ममा अहिले बीउ उत्पादन गर्न अकबरे खुर्सानी रोपण हुँदै आएको छ ।

यस वर्ष केन्द्रमा धनकुटाबाट दिउल ल्याएर उत्पादन सुरु गरिएको श्रेष्ठले बताउनुभयो । धनकुटाको खुर्सानी बढी पिरो हुने र ठाउँ परिवर्तन गरेर रोप्दा बढी फल्ने भएकाले पनि यसको उत्पादन गर्न लागिएको हो । हाल जिल्लाका स्थानीय तहसहित दोलखा, पाल्पा, रसुवा, रामेछापलगायत जिल्लाबाट खुर्सानीका बीउ र बिरुवाको माग आएको छ । पूर्वी नेपालमा व्यावसायिक खेती हुँदै आएको अकबरेको बिरुवा र बीउ मागअनुसार पूरा नभएकाले उत्पादन गर्न थालेको केन्द्रले जनाएको छ ।

खुर्सानी खानाका परिकारमा स्वादका लागि लिइने गरिन्छ । नेपालमा उत्पादन हुने चाउचाउमा समेत यसको माग बढेको छ । बाहिरी जिल्लामा मात्र होइन, नेपाल बाहिरसमेत यसको माग उत्तिकै छ । अन्तर्राष्ट्रिय बजारमा माग रहेकाले अकबरेको पूर्वी नेपालमा व्यावसायिकरुपमा खेती हुँदै आएको छ ।

पाकेको अकबरे नेपाली बजारमा प्रतिकिलो रु दुई सयदेखि रु तीन सयमा बिक्री हुँदै आएको छ । खुर्सानी नेपालमा भ्रमणमा आउने पर्यटक तथा नेपालबाट विदेश जानेले आफन्तका लागि लैजाने गरेका छन् । भारतको सिलीगुढी, दार्जिलिङ र पश्चिम बङ्गालका अन्य बजारमा यहाँको अकबरे बढी मात्रामा निर्यात हुन्छ ।

केन्द्रले बिरुवाभन्दा पनि बीउ अर्थात् दिउल नै उत्पादन गर्न थालेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । निजी क्षेत्रबाट अकबरेको बीउ दिउल प्रतिकिलो रु ३० हजारमा बिक्री भएको उनले बताए । केन्द्रले प्रतिकिलो करिब रु २० हजारमा सुक्खा खुर्सानीको दिउल खरिद बिक्री गर्न सक्ने जनाएको छ ।

सिजनमा खुर्सानी हरियो वा पाकेको भए पनि रातो नै बढी स्वादिष्ट हुने गरेको छ । बिना सिजनमा बफ्याएर समेत राख्न सकिन्छ । खुर्सानीलाई नुनमा समेत राख्न सकिन्छ । नुनमा राखेको खुर्सानी करिब दुई वर्षसम्म ताजाजस्तै हुने गरेको छ । बढीजसो चिसोमा खुर्सानी बढी खाने गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७