एक वर्षमा ४५७ मेट्रिक टन अकबरे उत्पादन


१७ भाद्र २०७९, शुक्रबार
akabare photo

तेह्रथुम । अकबरे खेतीलाई पछिल्लो समय तेह्रथुमका किसानले मुख्य नगदेबालीको रूपमा लिन थालेका छन । अकबरेतर्फ किसानको बढ्दो आकर्षणसँगै तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

आर्थिक वर्ष २०७८-०७९ मा तेह्रथुम जिल्ला चार सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ मा २८ हेक्टर क्षेत्रफलमा तीन सय ८० मेट्रिक टन अकबरे उत्पादन भएको सूचना अधिकारी सुरज खनालले जानकारी दिए । परम्परागत खेतीबाट श्रम र मेहनत नै उठ्न छाडेपछि किसानहरू नगदबालीतर्फ आकर्षित बन्दै आएका छन् ।

थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पनि अकबरे खेती गर्दै आएको स्थानीय रमेश खड्काले बताए । जिल्लाको विशेष गरी छथर गाउँपालिका अकबरे खेतीको पकेट क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत छथर गाउँपालिकामा अकबरे पकेट क्षेत्रको रूपमा विकास गरी खेतीलाई विस्तार गरिएको छ । स्थानीय बजारमा नै बिक्री हुने र राम्रो मूल्य हुँदा व्यापारीहरूले घरैबाट लैजाने गरेकाले पनि कृषकहरु अकबरे खेतीतर्फ हौसिएका हुन् ।

यहाँका किसानले एक रोपनीदेखि पाँच रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन् । अकबरे गाउँको मुख्य बजार केन्द्रहरूमा बिक्री हुने गरेको छ भने व्यापारीले पूर्वी तराईका विभिन्न जिल्लामा निर्यात गर्दै आएका छन् । पहिलो सिजनमा चार सय रुपैयाँसम्म मूल्य पाएको अकबरे अहिले भने बजारमा एक सय ५० रुपैयाँ प्रतिकिलो मात्रै बिक्री हुँदै आएको किसानहरू बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७