‘कांग्रेसमा सोहोर्ने बानी छ, उभ्रेको चिज दिन खोजे स्वीकार्य हुँदैन : नेपाल

‘हामीले अघिल्लो चुनावमा गठबन्धन भनेर बस्दा हण्डर खाएका छौं, योपल्ट त्यस्तो हुन दिने छैनौं’


१७ भाद्र २०७९, शुक्रबार
madhav nepal scaled

पोखरा । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसमा सबै सोहोर्ने बानी भएको आरोप लगाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ समाजवादी कास्की जिल्लास्तरीय भेलाको शुक्रबार उद्घाटन गर्दै उनले कांग्रेसमा भए जति सबै सोहोर्ने प्रवृत्ति रहेको टिप्पणी गरेका हुन् । कांग्रेसले गठबन्धन भन्ने तर भए जति र पाए जति सबै लिन खोजेको उनले आरोप लगाए । तर त्यो प्रवृत्ति मूल रुपमा देखिए पनि भित्री रुपमा केहीको भने मिलेर जाने र बाँडेर लिने प्रवृत्ति समेत रहेकाले आफूहरु आशावादी भएको उनले बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले कांग्रेसले जम्मै सोहोर्ने प्रवृत्ति नत्यागे गठबन्धन नहुने बताए । उनले सम्मानका साथ न्यायोचित ढंगले सिट बाँडफाँट भयो भने मात्र गठबन्धन हुने स्पष्ट पार्दै भने, ‘सम्मानका साथ सहमति भयो भने स्वीकार्य हुन्छ । तर सबै सोहोरौं र उभ्रेको, फालिएको चिज कसैले दिन खोज्छ भने हामीलाई स्वीकार्य हुँदैन ।’

अध्यक्ष नेपालले गठबन्धनको आश गरेर नबस्न कार्यकर्तालाई निर्देशन दिएका छन् । गठबन्धनका लागि अन्तिमसम्म पनि प्रयास गर्ने तर त्यसैका लागि भनेर स्थानीय तहमा जस्तो कुरेर नबस्ने उनले चेतावनी दिए । ‘हामीले अघिल्लो चुनावमा गठबन्धन भनेर बस्दा धेरै हण्डर र ठक्कर खाएका छौं । यस पटक त्यस्तो हुन दिने छैनौँ,’ उनले भने ।

अध्यक्ष नेपालले कार्यकर्तालाई नेताको घरदैलो नभइ कार्यकर्ताको घरदैलोमा पुग्न आग्रह गरे । पार्टी कार्यालय र नेताको घरदैलोमा पुग्दैमा टिकट नपाइने र पाए पनि नजित्ने भन्दै उनले भने, ‘नेताको घरदैलोमा पुग्ने, पार्टी कार्यालयमा पलेटी कसेर बस्ने, काठमाडौँ धाउने, पोखरा धाउने काम बन्द गर्नुस् । बरु त्यसको सट्टा जनताको घरदैलोमा पुग्नुस् । गाउँगाउँ र बस्तीबस्तीमा पुग्नुस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७