कृष्ण सिटौला झापा-३ बाट सर्वसम्मत सिफारिस


१७ भाद्र २०७९, शुक्रबार
krishna sitaula1639063678
फाइल फोटो

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नाम झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएको छ ।

नेपाली कांग्रेस भद्रपुर नगर समितिको कार्यालयमा शुक्रबार बसेको ३ नम्बर क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेता सिटौलाको नाम सर्वसम्मत सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए ।

त्यस्तै बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगुको नाम सिफारिस गरिएको उनले बताए । त्यस्तै प्रदेश सभा सदस्य (क) बाट भूमिप्रसाद राजवंशी र प्रदेश (ख) बाट नवीन बिमली, भगीरथ पोद्दार र भरत प्रसाईँको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।

नेता सिटौला ७औं पटक यस क्षेत्रबाट उठ्न लागेका छन् । २०४८ सालको संसदीय निर्वाचनमा एमालेका द्रोणप्रसाद आचार्यसँग सिटौला पराजित भएका थिए । २०५१ सालको संसदीय निर्वाचनमा एमालेका पुष्पराज पोखरेलसँग सिटौला दोस्रो पटक पराजित भए । २०५६ सालको संसदीय निर्वाचनमा एमालेका नारायण राजवंशीलाई पराजित गर्दै सिटौला पहिलो पटक यस क्षेत्रबाट निर्वाचित भई संसदमा पुगेका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका पूणर्सिंह राजवंशीसँग सिटौला फेरि पराजित भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाका राजेन्द्रप्रसाद लिङदेनलाई पराजित गर्दै सिटौला फेरि निर्वाचित भएका थिए ।

२०७४ सालको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिटौलालाई पराजित गर्दै राप्रपाका लिङदेन पहिलो पटक निर्वाचित भएका थिए । २०७९ सालको दोस्रो प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिटौलासँगै यस क्षेत्रबाट पुनः राप्रपाका अध्यक्ष लिङदेन उठ्ने लगभग पक्कापक्की भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७