‘इँटाभट्टामा जिउँदै मान्छे जलाएर मार्नेलाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, कथा लेख्नुछ’


१७ भाद्र २०७९, शुक्रबार
Nayan Raj pandey

काठमाडौं : रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस सासंद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले जेलमा छन् । उनी मानवता विरोधी क्रुर घटनाको मुख्य आरोपी हुन् । इँटाभट्टामा हालेर पाँचजनाको निर्मम हत्या गरेको आरोपी हुन् उनी ।

प्रहरीको अनुसन्धान भन्छ, ‘ विपक्षीलाई तर्साउन २०६४ मा संविधान सभाको निर्वाचन हुनुभन्दा एक दिनअघि २७ चैत्र २०६४ मा आलमको योजना अनुसार शेख इद्रिसको घरमा बम विस्फोट गराइयो । बम पड्किएर केहीको मृत्यु भयो । आलमकै आदेशमा विस्फोटमा घाइते भएका पाँचजनालाई ट्र्याक्टरमा राखेर राजपुरस्थित आफन्तको इँटाभट्टामा हालेर जलाएर मारियो ।’


उनै आलम आगामी मंसिर ४ गते हुन लागेको आमनिर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको लागि सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेसको २ नम्बर क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले आलमको एकल नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर २ बाट आलमको मात्र एकल नाम सिफारिस भएको क्षेत्रीय सभापति शेख फैजुल्लाहले बताए । ‘क्षेत्रीय कमिटीको बैठकमा आलमको एकल नाम आएकाले सिफारिसको निर्णय भएको हो,’ उनले भने, ‘कसैले विरोध, प्रतिवाद गरेनन् । सबैले उहाँकै नाम सर्वसम्मतबाट सिफारिस गर्न भनेर अनुरोध गरे ।’

पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा रहेका आरोपी सर्वसम्मत भएपछि अहिले कांग्रेसको आलोचना भइरहेको छ ।प्रज्ञा डबलीमा शुक्रबार शुक्रबार साहित्यकारहरुले समेत कांग्रेसको तिव्र आलोचना र बिरोध गरे । जहाँ कांग्रेस महामन्त्री गगन थापा उपस्थित थिए । मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको कथाकृर्ति कृति ‘बाआमा’ विमोचन कार्यक्रममा साहित्यकार कलाकार र राजनीतिज्ञ एकै मञ्चमा थिए ।

बुकहिल प्रकाशक रहेको ‘बाआमा’लाई शुक्रबार नेपाली कांग्रेसका महामन्त्री थापा, महानायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र सगुना शाहाले संयुक्त रूपमा विमोचन गरे ।

यही कार्यक्रममा साहित्यकार साहित्यकार नयनराज पाण्डेले इँटाभट्टामा मान्छे जलाएर मारेको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाएको भन्दै उनले असन्तुष्टि जनाए । यसको बारेमा कथा लेख्ने दिन आएको बताए । भने, ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ ।’

साहित्यकार पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले आलम उम्मेदवार नबन्ने जिकिर गर्दै कांग्रेसको लामो बचाउँ गरे । ‘नायनराज दाईले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला । संविधानले, विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आश्वस्त पार्दछु,’ उनले भने ।

नख्खु कारागारमा आलम

२०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको सो विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै ईटाभट्टामा जलाइएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

बम विस्फोट गराउँदै अन्य प्रतिस्पर्धीलाई तर्साएर चुनाव जित्ने रणनीतिअन्तर्गत सो घटना भएको थियो । कांग्रेस नेता आलम ०६४ को संविधानसभा निर्वाचन विजयी पनि भए । राजनीतिक शक्तिको आडमा अपराधबाट भने उनी जोगिँदै आएका थिए ।

तर, कांग्रेसको दबाबमा तत्कालीन प्रहरी र सरकारी वकिलको कार्यालयबाट आलममाथि मुद्दा नचलाउने निर्णय गरिएको थियो । तर, पछि पुनः सोही मुद्दामा सर्वोच्च अदालतबाट २०६९ जेष्ठ १६ गते, मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानूनबमोजिम कारवाही गर्ने आदेश दिइएको थियो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत्र ८ गते ताकेता गर्दै मुद्दा चलाउनका लागि पत्राचारसमेत गरेको थियो ।

त्यसपछि सर्वोच्च अदालतमा रिट पर्‍यो । १६ जेठ ०६९ मा सर्वोच्चका तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको आदेश बदर गर्‍यो । त्यतिवेलै उनलाई पक्राउ गर्न बाटो खुलेको थियो । तर, राजनीतिक दबाबमा प्रहरीले छुन सकेन । बरु फरार अभियुक्त रहेकै अवस्थामा ०७४ को निर्वाचनमा पनि टिकट पाएर विजयी भए । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए । उनी नख्खु कारागारमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७