नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइँदै


१८ भाद्र २०७९, शनिबार
bidhya

काठमाडौं । राष्ट्रियसभाबाट पनि हुबहु पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि (आइतबार) राष्ट्रपतिकहाँ पठाउने तयारी भएको छ ।

भोलि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक हिजो राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो ।

यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधिसभाले विधेयक पास गरेर राष्ट्रियसभामा पठाएको थियो ।

राष्ट्रियसभाले विधायन समितिमा पठाए पनि संशोधन भएन । राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको विधेयक हुबहु पारित भएपछि यसबाट राष्ट्रपतिको अपमान भएको टिप्पणी हुँदै आएको छ । अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७