रुँदै फर्किए कांग्रेसमा गच्छदार


३१ आश्विन २०७४, मंगलवार
bijaya gachhadar

काठमाडौं : १० वर्षअघि बालुवाटारबाटै कांग्रेस छाडेका विजयकुमार गच्छदार आइतबार बेलुका नै कांग्रेस फर्किने तयारी थियो । समानुपातिक सूची मिलाउन लागेको समय र प्रतिनिधिसभा निर्वाचनमा भागबन्डा मिलाउन भएको ढिलाइले कार्यक्रम सोमबारका लागि सारियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

bijaya gachhadar

प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ११ बजे भनिएको गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकता कार्यक्रम डेढ घन्टा ढिलो गरी सुरु भयो ।

कार्यक्रम चलाउने जिम्मा कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यको थियो । उनले ‘आजको दिन ऐतिहासिक’ भन्दै कार्यक्रम चलाउन सुरु गरे, भूमिका बाँधे । अगाडि नै हस्ताक्षर भएको एकपन्ने सम्झौतापत्र पढ्न एकता हुँदै गरेको फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवलाई आग्रह गरे ।

देवले फोरमको पहलमा भएको १६ बुँदे सहमतिको जगमा संविधान बनेको र संविधान संशोधनको विषयलाई साझा रूपमा अगाडि बढाउने, पार्टी एकीकरणमा केन्द्रदेखि तल्लो तहसम्मका पार्टी संरचनालाई यथोचित समायोजन गर्न दुवै दल तयार रहेको विवरण पढेर सुनाए ।

सम्झौतापत्रलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र फोरमका अध्यक्ष गच्छदारले सार्वजनिक गरे । दुवैको बीचमा बसेका नेता रामचन्द्र पौडेलले दुवैलाई मिलाएकोझैँ गरे ।

बालुवाटारमा कुर्सीको अभाव

त्यसवेलासम्म बालुवाटारको हलभित्र नेता–कार्यकर्ताको भीड बढिसकेको थियो । ड्यासमा तीनजना बस्नुपर्ने सोफामा चारजना, दुईजना बस्नुपर्नेमा तीनजना र एकजना बस्नुपर्ने सोफामा दुईजना केन्द्रीयस्तरका नेताहरू अटाई–नअटाई बसे ।

प्रधानमन्त्रीको निवासमा एसी नचल्दा

साढे ११ बजे हलमा पत्रकारदेखि नेतासम्मलाई प्रवेश दिइएको थियो । तर, कार्यक्रममा एसी नचल्दा गर्मीले सबै भुतुक्क भइसकेका थिए । कुर्सी छोड्दा अर्कोले हडप्ने डरले नेतादेखि कार्यकर्ता गर्मी सहेरै बसेका थिए ।

‘जय नेपाल’ बाट सुरु ‘जय मधेस’ मा अन्त्य

एकता कार्यक्रममा सुरुमै गच्छदारले ‘जय नेपाल’ भने । सहभागी सबैलाई जय नेपाल भन्न आग्रह गरे । २० मिनेटको भाषण सकाउने क्रममा पनि ‘जय नेपाल’ भन्न भ्याए । केही बिर्से जसरी अन्तिममा ‘जय मधेस पनि’ भन्दै भाषण सकाए ।

निधिसँग अंकमाल

गच्छदार बोल्न थालेपछि केही बेरमा प्रभावशाली नेता विमलेन्द्र निधि कार्यक्रममा देखिएका थिए । खाली भएर होला, उनी संयोगले गच्छदार बसेकै सोफामा बस्न पुगे । भाषण सकाएर फर्किंदा गच्छदारले निधिसँग अंकमाल गरे । नेता महेश आचार्यले दुई नेताको अंकमाललाई ‘मित्रताको क्षण’ भन्दा हलमा हाँसो गुन्जियो ।

पौडेलले पार्टीको नाम नै सही भन्न नसकेपछि 

गच्छदारलगत्तै नेता रामचन्द्र पौडेलको बोल्ने पालो आयो । उनले वाम गठबन्धनका नाममा धु्रवीकरण गराउने र प्रजातन्त्रलाई मास्न खोज्नेविरुद्ध एक भएर लाग्नुपर्ने बताए । गच्छदारको पार्टी कांग्रेसमा मिसिँदा आफूहरूको अभियानमा बल पुग्ने बताए । तर, एकीकरण हुँदै गरेको गच्छदारको पार्टीको नाम सही उच्चारण गर्न जानेनन् । ‘संघीय लोकतान्त्रिक’ भन्ने शब्दावली दुईपटक उच्चारण गरे, फेरि ‘नेपाल लोकतान्त्रिक’ मात्रै भन्दा अलमलिए । फेरि सुधार्न खोज्दा ‘नेपाल संघीय लोकतान्त्रिक फोरम’ भने यतिखेरसम्म हलमा हाँसो गुन्जिसकेको थियो । पौडेलले पार्टीको नाम भन्न नसकेपछि हलबाट केही सहभागीले सही नाम भनिदिएपछि पौडेलले पाँचौँपटकमा ‘नेपाल लोकतान्त्रिक फोरम’ भने । आफ्नै पछिल्ततिर ब्यानरमा पार्टीको नाम उल्लेख भए पनि उनले त्यता ध्यान दिएनन् ।

गणेश लामाले सुरक्षाकर्मीको आग्रह नकारे

देउवा, पौडेल, गच्छदारसहित शीर्ष नेताको ठीक पछाडिपट्टि गणेश लामा बसेका थिए । पछाडिपट्टिको दाहिने लहरमा फोरमका नेता लहरै बसेका थिए । उनीहरू मुस्किलले अटाएको देखिन्थ्यो । यस्तोमा सुरक्षाकर्मीले लामालाई उठेर छेउतिर गइदिन आग्रह गरे पनि उनले पटक–पटक नकारिरहे । गुन्डा नाइके पृष्ठभूमि हुँदै फोरम पुगेका लामालाई प्रधानमन्त्रीको पछाडि बस्न नदिने सुरक्षाकर्मीको प्रयास असफल भएको हो ।

शेखरले कुर्सी छोड्दा मीनेन्द्रले मानेनन्

कार्यक्रम सुरु भएपछि उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ हलमा प्रवेश गरे । यताउति हेर्दा पनि बस्ने कुर्सी नदेखेपछि उनी अकमकिए । दायाँतिरको सोफामा शेखर कोइराला, मीनेन्द्र रिजालसहितका नेता बसेका थिए । श्रेष्ठले कुर्सी नपाएपछि शेखरले उनलाई कुर्सी छोडिदिए । तर, मीनेन्द्रले शेखरलाई नउठ्न आग्रह गर्दै अर्को कुर्सी मगाउन यताउति हेरिरहे । तर, तत्काल कुर्सी ल्याउने अवस्था नदेखिँदा श्रेष्ठ मिलेर त्यहीँ बसे ।

गच्छदार १० वर्षपछि कांग्रेसमै

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेसमै फर्किएका छन् । सोमबार बालुवाटारमा आयोजित पार्टी एकीकरण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र गच्छदारबीच पार्टी एकीकरण भएको तीनबुँदे सम्झौतापत्र सार्वजनिक गरियो ।

गच्छदारले आँसु खसाल्दा कांग्रेस नेता पनि भावुक

– सम्झौतापत्र सार्वजनिक भएपछि बोल्ने पालो गच्छदारको आयो । उनले १८ माघ २०६४ मा बालुवाटारमा कांग्रेसका शीर्ष नेतासँगको छलफलमा कुरा नमिलेपछि पार्टी छाड्नुपरेको बताए । पुरानो घटना विवरण सुनाउँदै जाँदा उनी भावुक बन्दै गए । आफूले रगत–पसिना बगाएको पार्टीबाट बाहिरिनुपर्दाको पीडा सुनाउँदै आँसु नै खसाले ।

– गिरिजाप्रसाददेखि नोना कोइरालाले आफुलाई ‘बेटा’ भनेर माया गर्ने, तर पार्टीमा अटाउने ठाउँ नदिएको भन्दै गच्छदार भावुक बन्दा ड्यासमा आसीन कांग्रेस शीर्ष नेताको अनुहार पनि मलीन देखिन्थ्यो । कांग्रेस छाड्दै गर्दा आफूले दुई ठाउँबाट जित्ने प्रण गरेको र पहिलो संविधानसभामा सुनसरी र मोरङबाट जितेर देखाएको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७