वर्ष दिनमै गठबन्धनले देशलाई कङ्गाल बनायो : ओली


१८ भाद्र २०७९, शनिबार
kp oli 3

सुनसरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कङ्गाल बनाएको आरोप लगाएका छन् ।

आज (शनिबार) सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अघिल्लो सरकारले ल्याएका आयोजनाहरू कटौती गरेर वर्तमान सरकारले देश बेहाल बनाएको दाबी गरे । उनले भने, ‘मसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनै पर्छ किनकी यो एक वर्षमा गठबन्धन सरकारले देशलाई बेहाल बनाइसकेको छ । त्यस कारण देशको समग्र विकासका लागि एमालेको जित आवश्यक छ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आउँदो मंसिर ४ गतेको चुनावमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसङ्ग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताए ।

अध्यक्ष ओलीले नेकपा एमाले गँड्यौलो जस्तो नभएको भन्दै दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताए । उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र नागरिकको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए । उनले मंसिर ४ गते हुने चुनावमा देश, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताले हार्न नहुने बताए । उनले सरकारमा रहेका दल त्यागेर अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको दाबी पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७