भदौ २६ गतेबाट दशैंका लागि नयाँ नोट


१८ भाद्र २०७९, शनिबार
money new
सांकेतिक तस्विर

काठमाडौ । नेपाल राष्ट्र बैंकले भदौ २६ गतेबाट दशैँको लागि बजारमा नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले यसका लागि तयारी पूरा भएको बताए । दशैंमा साना दरका सुकिला र नयाँ नोटको माग उच्च हुने भएकाले यो समयमा केन्द्रीय बैंकले बढी नोट बजारमा पठाउने गरेको छ ।

दशैंमा नयाँ नोट दक्षिणास्वरूप दिनु संस्कृतिकै रूप लिइसकेको छ । त्यसैले मानिसहरू रातिदेखि नै राष्ट्र बैंकमा लाइन लागेर नयाँ नोट साट्ने गरेको विगतमा पनि देखिँदै आएको छ । विगतमा नयाँ नोट साट्नका लागि लाइन बस्नुपर्ने अवस्थालाई सुधार गर्दै राष्ट्र बैंकले यसपालि भने व्यवस्थित रूपमा नोट वितरण गर्ने तयारी गरेको उनले बताए ।

नयाँ नोट साट्न आउनेलाई प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्मका नयाँ नोट साट्न पाउने बैंकले जानकारी दिएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट बढीमा एक सेट साट्न पाउने छन् ।

राष्ट्र बैंकका क्षेत्रीय कार्यालय र नोट कोषबाट दशैं लक्षित नोट वितरण गरिने जनाइएको छ । राष्ट्र बैंकको पहुँच नभएका स्थानमा सरकारी बैंकले नोट कोष सञ्चालन गर्छन् । दशैंमा प्रयोग गरिने नयाँ नोट नखुम्च्याई प्रयोग गर्न, रङ नलगाउन, पानीमा नभिजाउन केन्द्रीय बैंकका सहायक प्रवक्ता पोखरेलले आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७