बाबुराम भट्टराई पनि गोरखा-२ बाटै चुनाव लड्ने


१८ भाद्र २०७९, शनिबार
baburam bhattarai

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको गोरखा क्षेत्र नम्बर-२ बाटै चुनाव लड्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका उनले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गरे । यसअघि पनि उनले सोही क्षेत्रमा श्रेष्ठलाई पराजित गरेका थिए । गृह जिल्ला गोरखाका पत्रकारहरूसँग शनिबार कुराकानी गर्दै उनले यसअघि जितेको ठाउँबाट चुनाव लड्ने मापदण्डअनुसार सो क्षेत्रबाट आफू स्वतः उम्मेद्वार हुने दाबी गरे ।

‘यस अघिको निर्वाचनमा जसले जहाँबाट चुनाव जितेको हो उसले त्यही लिने भन्ने अन्तरिक समझदारी बनेको छ । त्यो अनुसार म स्वतः गोरखा २ बाट चुनाव लड्छु’, उनले भने, ‘यस पटक सबै दलको साझा उम्मेदवारको रूपमा अघि बढ्न चाहेको छु । गठबन्धनका कांग्रेस, माओवादीलगायत दलको त सहयोग हुनेछ । त्यो बाहेकका सबै दलहरुले पनि यसपटक मलाई गोरखाको प्रतिनिधित्व गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा छ ।’ पहिलो जसले जुन क्षेत्र जितेको छ त्यो लिने र एमालेले जितेको ठाउँ बाँडफाँट गर्ने सहमति भएकाले सोही अनुसार सिट बाँडफाँट हुने उनले बताए ।

यो निर्वाचनमा सुशासन र समृद्धिको ठोस मार्गचित्र बनाएर आफू अघि बढ्ने डाक्टर भट्टराईले बताए । यसअघि प्रधानमन्त्री हुँदा छोटो अवधिमा धेरै काम गर्न नसकेको बताउँदै उनले विगतमा थालेका काम पूरा गर्ने योजना रहेको बताए । उनले चुनावपछि माओवादीसँग पार्टी एकताका विषयमा पनि छलफल भइरहेको बताए । ‘नयाँ समाजवादी धार निर्माण गर्ने योजनाअनुसार एकै ठाउँमा उभिएर जाने हो’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७