नागरिकता विधेयकबारे राष्ट्रपतिले गरिन् वाम पार्टीहरूसँग छलफल


२२ भाद्र २०७९, बुधबार
bidhyadevi bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि आफू कहाँ आईपुगेको नेपाल नागरिकता ऐन संशोधन विधेयकबारे साना कम्युनिस्ट पार्टीहरूसँग छलफल गरेकी छन् ।

संघीय संसद्ले नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि भदौ २० गते राष्ट्रपति कार्यालय पठाएको थियो । विधेयकका विषयमा विभिन्न दलसँग छलफल गर्ने क्रममा भदौ २२ गते मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी, लोकनारायण सुवेदी अध्यक्ष रहेको नेकपा, सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मसाल लगायतका दलका नेताहरूसँग भेटवार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले नागरिकता विधेयक सम्बन्धी संयुक्त अवधारणा पत्र राष्ट्रपतिलाई बुझाएको जानकारी दिए । उनले भने, ‘राष्ट्रपति ज्यूले तपाईंहरूले उठाउनु भएको विषय एकदमै महत्त्वपूणर् र संवेदनशील छ भन्नुभयो ।’

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालले नागरिकता विधेयकबारे विभिन्न पक्षसँग छलफल गर्ने क्रममा साना वाम पार्टीहरू छलफल भएको जानकारी दिएका छन् । आजै नेपाल मजदुर किसान पार्टीका नेताहरूसँग पनि छलफल गर्न लागेको ढकालले बताए । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग राष्ट्रपतिले यसअघि नै छलफल गरिसकेकी छन् ।

संसद्ले प्रमाणीकरणका लागि पहिलो पटक पठाएको विधेयक १५ बुँदे सन्देश सहित राष्ट्रपति कार्यालयले संसद्मै फिर्ता पठाएको थियो । विधेयक जस्ताको तस्तै पारित गरेर पुनः प्रमाणीकरणका लागि आएपछि राष्ट्रपतिले विभिन्न पक्षसँग छलफल अघि बढाएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७