राजदूत आचार्यसँग बेलायतका नेपाली आक्रोशित : दुबै देशको सरकारलाई उजुरी दिने तयारी


२३ भाद्र २०७९, बिहीबार
Gyan Chandra Acharya

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य विरुद्ध बेलायत र नेपाल सरकारलाई उजुरी दिने तयारी गरेको छ । राजदूत आचार्यले नेपाली समुदाय बिभाजन गर्न भूमिका निर्वाह गरेको भन्दै एनआरएनएले उजुरी दिने भएको हो ।

राजदूत आचार्यलाई एनआरएन बेलायतले ११ औं वार्षिक साधारणसभा तथा संघ संस्था प्रतिनिधि सभामा प्रमुख अतिथिका रुपमा बोलाएको थियो । तर अन्तिम समयमा उनी कार्यक्रममा अनुपस्थित भए । विवादस्पद गतिविधि गरिरहेको व्यक्ति र समुहको कुरा सुनेर अनुपस्थिति भएको एनआरएनको आरोप छ । राजदूत आचार्यको गतिविधि र भुमिकाको निष्पक्षतामा प्रश्न उठाउदै नेपाल र बेलायत सरकारलाई उजुरी दिन लागिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बताए ।

अध्यक्ष मगरले भने, ‘राजदुत आचार्यले बेलायतमा बस्ने नेपाली समुदायको भावना र सम्मानमा ठेस पु¥याउदै निष्पक्षता र समान व्यवहार गरेनन् । त्यही कारण नेपाल र बेलायत सरकारलाई उजुरी दिदैछौं ।’

बेलायतका ३३४ वटा सामाजिक संघ संस्थालाई प्रतिनिधित्व गर्ने छाता संस्था गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले गरेको वार्षिक साधारणसभामा १ सय ३ वटा संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए । अध्यक्ष विरुद्ध गतिविधि गरिरहेका व्यक्तिहरुको कुरा सुनेर साधारणसभामा हिडेका आचार्य वीचै बाटोबाट फर्केपछि राजदुतविरुद्ध एनआरएनए बेलायत राजदुतसँग आक्रोशित भएको हो ।

‘कार्यक्रममा आउने वचन दिएर कार्यक्रमको अन्तिम समयमा संस्थाविरुद्ध गतिविधि गरिरहेका व्यक्तिको कुरा सुनेर उपस्थित नहुनु बेलायतस्थित समस्त नेपाली समुदायको भावनामा चोट पुगेको हाम्रो ठहर छ । उनको पक्षपातपूर्ण कार्यशैलीविरुद्ध नेपाल र बेलायत सरकारमा उजुरी गर्छौं,’ अध्यक्ष गाहामगरले भने ।

गत ६ अगष्टमा गैर–आवासीय नेपाली संघ बेलायतको ११ औं वार्षिक साधारणसभा तथा संघ संस्था प्रतिनिधि सभामा प्रमुख अतिथीका रुपमा निम्त्याइएका राजदूत आचार्यले आयोजकलाई तीन घण्टा कुराएर अन्तिममा अनुपस्थित भएका थिए । नेपाली कांग्रेसको कोटामा बेलायत आएका राजदूत आचार्यले कुनै एक पक्षको कुरा सुनेर पक्षपाती व्यवहार गरेको गैर–आवासीय नेपाली संघ बेलायतले ठहर समेत गरेको छ ।

Prem Gaha Magar
प्रेम गाहा मगर
अध्यक्ष, गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायत

गैर–आवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा राजदूत नआएपछि झण्डै तीन दर्जन संघसंस्थाले कार्यक्रमस्थलमै स्वतस्फूर्त हस्ताक्षर गरी उनको कदमप्रति खेद प्रकट गरेका थिए ।

कार्यक्रममा राजदूतले हाम्रो प्रमुख आतिथ्यता स्वीकारेपछि सोही अनुसार तयारी गरिएको थियो । हामीले बिहान ११ बजे शुरु गर्नुपर्ने कार्यक्रम राजदुतको आश्वासनमा झण्डै तीन घण्टा प्रतिक्षा गरेका थियौं । तर दुर्भाग्य राजदुतले अन्तिम समयमा

कार्यक्रममा आउन नसक्ने अवगत गराए । राजदुतको यस कार्यले गैर–आवासीय नेपाली संघ बेलायतले मात्र होइन, बेलायतका सम्पूर्ण सामाजिक संघ संस्था तथा सम्पुर्ण बेलायतबासी नेपालीहरुको समेत अपमान भएको हामीले ठहर गरेका छौं’, गाहामगरले भने, ‘हामीले सोचेका थियौं । नेपाल सरकारले पठाएको राजदूत समस्त बेलायतका नेपालीहरुको अभिभावक र संरक्षक हो । तर त्यसो नभई केही व्यक्ति विशेषको प्रभावमा पर्नुभयो । यो निन्दनीय र आपत्तीजनक छ ।’

गाहामगरले यस विषयमा राजदूतको धारणा माग्दा उनले दुई सातासम्म वेवास्ता गरेकाले र उनले बेलायतवासी संघसंस्था तथा जनसमुदायप्रति निष्पक्ष व्यबहार नगरेकाले नेपाल सरकार र बेलायत सरकारमा उजुरी गर्ने अवस्थामा आफूहरु पुगेको बताए ।
राजदुत आचार्यको गतिविधि एनआरएनए फुटाउनेतर्फ उद्दत भएकाले पनि बाध्य भएर उजुरी दिने पुगिएको अध्यक्ष गाहामगरले बताए । निष्पक्ष र समान व्यवहार गर्न नसक्ने राजदुत बेलायतबासी नेपालीहरुको हितमा नरहेको अध्यक्ष मगरले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७