देउवा-नेपालको व्यस्तताले बस्न सकेन सत्ता गठबन्धनको बैठक


२४ भाद्र २०७९, शुक्रबार
Gathbandhan Top five leader of nepal

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको आज (शुक्रबार) का लागि तय गरिएको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले दिएको जानकारी अनुसार बैठक शनिबार बस्ने गरी स्थगित भएको हो ।

गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले आइतबार प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदनमा सिट संख्या टुंगाइएको थिएन । आज बस्ने भनिएको शीर्ष नेताहरूको बैठकले सिट संख्या टुंगो लगाउने तयारी गरेको थियो ।
तर, प्रधानमन्त्री देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको व्यस्तताको कारण बैठक आज बस्न नसकेको हो ।

जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले शुक्रबार बस्न नसकेको बैठक शनिबारका लागि डाकिएको बताएका छन् । ‘नेताहरु व्यस्त भएको खबर आएको छ’, सत्ता कार्यदलका सदस्य समेत रहेका उनले भने, ‘अब शनिबार बिहान बस्ने खबर हामीलाई आएको छ ।’

प्रधानमन्त्री देउवा गृहमन्त्री बालकृष्ण खाँणलाई साथमा लिएर बीपी स्मृति दिवसको कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान चितवन पुगेका थिए । उनी त्यहाँबाट फर्किन ढिलो भएको छ । उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा पुगेर फर्किएका छन् ।

अर्कातिर एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त भएको भन्दै बैठक बस्न नसकेको हो । बिहीबारको बैठकमा मधेश प्रदेशका ३२ सिटलाई लिएर दलहरुबीच विवाद भएको थियो ।

मधेशका ३२ सिटमध्ये करिब २० वटामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले दाबी गरेको छ । उता कांग्रेसले पनि स्थानीय निर्वाचनमा पहिलो भएको भन्दै धेरै सिटमा दाबी गरेको छ । यादव नेतृत्वको जसपाले मधेशका ६० प्रतिशतसहित प्रदेश १ का मोरङ ५ र धनकुटामा पनि दाबी गरेको छ । गठबन्धनमा खासगरी जसपा असन्तुष्ट देखिएको छ । कांग्रेसले पेलेको भन्दै जसपा अध्यक्ष यादवले गठबन्धनबाट बाहिरिएर नयाँ विकल्पमा जाने बताइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७