बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने सरकारको निर्णय


२४ भाद्र २०७९, शुक्रबार
Queen Elizabeth II 1

काठमाडौं : नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

नेपाल सरकारले उनको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

‘संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ दृतियको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गर्दछ । यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महारानीको निधनमा “गहिरो दु:ख” व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘महारानी एलिजाबेथ द्वितीयाले कर्तव्य, सम्मान र सेवाका साथ आफूलाई सम्मानित बनाएकी थिइन्।’

उनले महारानीले गरेका दुईवटा नेपाल भ्रमणको स्मरण समेत गरेका छन्। देउवाले नेपालीहरूले उनलाई प्रेमपूर्वक स्मरण गर्ने भन्दै नेपालले ‘देश र जनताको एक महान् प्रशंसक गुमाएको’ उल्लेख गरेका छन्।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनले बेलायत राष्ट्रिय शोकमा डुबेको छ । बेलायती नागरिकहरु महारानीको कार्यालय रहेको बकिङ्घम प्यालेस, निवास बिन्जर क्यासल, बालमोरल क्यासल, सान्ड्रिघमलगायत अघि भेला भई उनको सम्मानस्वरुप पुष्पगुच्छा अर्पण गर्नुका साथै तथा मैनबत्ती प्रज्ज्वलन गरिरहेका छन् ।

दूतावास पुगेर दुःख व्यक्त

Bidhya Devi Bhandari

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरेकी हुन् ।

सात दशक राजगद्दीमा बसेकी ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार निधन भएको हो । शुक्रबार दिउँसो दूतावास पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । महारानीको निधन खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र नेपाल सरकारको तर्फबाट एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनले एलिजाबेथको निधनप्रति दुःख व्यक्ति गर्दै आफ्नो र नेपाल सरकार र जनताको तर्फबाट श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

महारानी एलिजाबेथको निधन खबरले दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

यसैविच पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताएका छन् ।

बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा फणीराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन् ।

महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ,’ शोक सन्देशमा उल्लेख छ ।

सात दशक राजगद्दीमा बसेरे शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको र नेपालप्रति देखाएको अगाध आत्मीयता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गरेका छन् ।

लामो र गौरवमय इतिहास

queen elizabeth

९६ वर्षीय महारानी एलिजावेथको स्कटल्यान्डस्थित बाल्मोरल दरबारमा बिहीबार निधन भएको थियो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् ।

एलिजाबेथ २५ वर्षको उमेरमा सन् १९५२ फेब्रुअरी ६ मा ब्रिटिश महारानी बनेकी थिइन्। राजकुमारी रहँदा एलिजाबेथ ब्रिटिश राजपरिवारमा अहिले दोस्रो मर्यादामा रहने ड्यूक अफ योर्क एन्ड्रूकी छोरी बिएट्रेसको जस्तै रोल क्रममा थिइन्। यसको अर्थ उनी महारानी बन्ने सम्भावना धेरै कम थियो।

त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन्। किनभने उतिबेला उनी रोलक्रममा आफ्नो बुबा र काकापछि तेस्रो स्थानमा थिइन्। तर सन् १९३६ को डिसेम्बरमा ब्रिटिश राजपरिवारमा एउटा नाटकीय परिवर्तन भयो। १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिए ।

यो सँगै १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो । उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिल्यो। उनकी जेठी छोरी एलिजाबेथ उत्तराधिकारीको पहिलो दाबेदार बनिन्।

पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन् । दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथले गद्दी आरोहण गरेकी थिइन् ।

त्यस यता उनले ७० वर्ष सात महिना अवधि शासन गरिन् ।  एलिजाबेथ विश्वकै लामो समय सत्तामा रहने शासकको सूचीमा फ्रान्सेली शासक लुइस १४ औं पछि दोस्रो स्थानमा थिइन् ।

बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् । अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्ने बीबीसीले जनाएको छ । उनका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिनी छन्।

एलिजाबेथ द्वितीयको शासनकालमा १४ जना बेलायती प्रधानमन्त्री परिवर्तन भएका छन् । ११७ देशको भ्रमण गरेकी एलिजाबेथ संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष पनि हुन् ।

आफ्नो ७० वर्षको शासनकालमा ९६ वर्षीय महारानी एलिजाबेथले देशका नयाँ प्रधानमन्त्रीहरूको औपचारिक नियुक्ति बकिङ्हम प्यालेसबाट नै गर्ने गरेकी थिइन्। तर यसपटक लण्डनमा यात्रा गर्न असहज हुने भन्दै उनले नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई बारमोरलमै बोलाएर सपथ खुवाएकी थिइन्।

उनले गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो । रानी एलिजावेथ वि।सं २०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्। तत्कालीन राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरेलगत्तै उनको नेपाल भ्रमण भएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७