गोर्खाहरुको प्रशंसक चार्ल्स तृतीय बेलायतको नयाँ राजा


२५ भाद्र २०७९, शनिबार
Prince Charles and gurkha

काठमाडौं : बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनले बेलायत राष्ट्रिय शोकमा डुबेको छ । बेलायती नागरिकहरु महारानीको कार्यालय रहेको बकिङ्घम प्यालेस, निवास बिन्जर क्यासल, बालमोरल क्यासल, सान्ड्रिघमलगायत अघि भेला भई उनको सम्मानमा पुष्पगुच्छा अर्पण र मैनबत्ती प्रज्ज्वलन गरिरहेका छन् । महारानी एलिजाबेथ द्वितीय जाे गोर्खालीकै सुरक्षा घेरामा बेलायतको राजदरबारमा हुर्के/बढेकी थिइन् ।

महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएसँगै चार्ल्स तृतीय बेलायतको नयाँ राजा बनेका छन्। महारानीको निधन भएको तत्क्षण कुनै समारोह आयोजना नगरी उनका उत्तराधिकारी वेल्सका पूर्वराजकुमार चार्ल्सलाई राजगद्दी हस्तान्तरण गरिएको छ । नयाँ राजा चार्ल्स पनि गोर्खा सैनिकहरुको प्रशंसक हुन् । उनले गोर्खा सैनिकहरुलाई माया गर्ने गरेका छन् ।

रेजिमेन्ट रोयल गोर्खा राइफल्स् (आरजिआर) को समारोहमा चार्ल्सले पटक पटक गोर्खाहरुको प्रशंसा गरेका छन् । गोर्खाहरुलाई उत्कृष्ट सैनिकको संज्ञा दिने गरेका छन् ।

uk king charles with gurkha army
रेजिमेन्ट रोयल गोर्खा राइफल्स् (आरजिआर) को सोर्नक्लिफ ब्यारेक्स्मा आयोजित २१ औं वार्षिकोत्सव समारोहमा चार्ल्स

उनले एउटा कार्यक्रममा भनेका थिए, ‘गोर्खाहरु दुई सय वर्ष यता बेलायती राजमुकुटप्रति बफादार भएर लडिरहेका छन् । पछिल्लो समय आरजिआरले अफगानिस्तान युद्ध र ब्रुनाइको युद्धतालिममा मात्र होइन, विश्वभरनै महत्वपूर्ण भूमिका खेलेको छ । तपाईंहरु यो स्थानमा भएर पुर्खाहरुले धेरै गर्व गरेको हुनुपर्छ । उपलव्धिमुलक काम र विश्वमाझ आफ्नो उच्च छवि कायम राखेर गोर्खाहरुले उत्कृष्ट सैनिक भएको पुष्टि गरेका छन् ।’

uk king charles with gurkha
गोर्खाका परिवारसँग चार्ल्स
uk king charles with gurkha

चार्ल्सले पार गर्नु पर्ने चरणहरू

७० वर्षसम्म शासन चलाएकी आमा एलिजावेथको निधनसँगै अब उक्त जिम्मेवारी छोरा चार्ल्स को काँधमा आएको छ । ‘प्रिन्स चार्ल्स ’ का रुपमा रहेका उनलाई अब ‘महाराजा चार्ल्स तृतिय’ को नामले सम्बोधन गरिनेछ । तर, औपचारिक रूपमा राजा घोषणा हुनुअघि केही परम्परागत प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ। यससँगै उनलाई राजा चार्ल्स तेस्रोको नामले पुकारिनेछ। संवैधानिक राजाको रुपमा उनको भूमिका सीमित हुनेछ तर राष्ट्राध्यक्ष तथा राष्ट्र मण्डलको नेताको रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन् ।

King Charles

नयाँ राजाको पहिलो कार्यकारी निर्णय नै नाम सम्बन्धी हुने भएको छ। उनले आफ्नो चार वटा नाम ‘चार्ल्स, फिलिप, आर्थर, जर्ज’ मध्ये कुनै एक छनोट गर्न पाउनेछन्। बेलायतको राजगद्दीमा बसेपछि नाम तथा पदवी परिवर्तन हुने उनी एक मात्र उत्तराधिकारी होइनन्।

बेलायती राजतन्त्रको उत्तराधिकारी भए पनि चार्ल्सका छोरा राजकुमार विलियमले स्वतः ‘प्रिन्स अफ वेल्स’ को उपाधि पाउनेछैनन्।  उनका बुबा चार्ल्सले त्यसको सुनिश्चितता गरिदिनुपर्ने हुन्छ।

हाल विलियमले आफ्नो बुबाको पदवी ‘ड्युक अफ कोर्नवाल’ उपाधि पाएका छन्। विलियम र उनकी पत्नी केटलाई ‘ड्युक एन्ड डचेच अफ कोर्नवाल र क्याम्ब्रिज’ को औपचारिक उपाधि प्राप्त छ।

चार्ल्सकी श्रीमती क्यामेलियाले पनि नयाँ उपाधि पाएकी छिन्। क्यामेलियालाई ‘क्वीन कनसोर्ट’ भनिने गरिन्छ। जसको शाब्दिक अर्थ राजसत्तामा रहेका व्यक्तिकी श्रीमती भन्ने बुझिन्छ।

कस्तो हुनेछ राजा घोषणा समारोह ?

King Charles UK 1

आमाको निधनको करिब २४ घण्टापछि चार्ल्सलाई आधिकारिक रूपमा राजा घोषणा गरिनेछ। उक्त समारोह लन्डनस्थित सेन्ट जेम्स दरबारमा उत्तराधिकारसम्बन्धी औपचारिक निकाय एक्सेशन काउन्सिलको उपस्थितिमा आयोजना हुनेछ।

आमाको निधनको करिब २४ घण्टापछि चार्ल्सलाई आधिकारिक रूपमा राजा घोषणा गरिनेछ। उक्त समारोह लन्डनस्थित सेन्ट जेम्स दरबारमा उत्तराधिकारसम्बन्धी औपचारिक निकाय एक्सेशन काउन्सिलको उपस्थितिमा आयोजना हुनेछ।

समारोहमा ७०० भन्दा बढी मानिसको उपस्थिति हुनसक्छ तर छोटो अवधिमा विकास भएको घटनाक्रमका कारण उपस्थित हुनेहरूको सङ्ख्या निकै कम हुनसक्ने सम्भावना छ। यसअघि सन् १९५२ मा भएको त्यस्तो समारोहमा २०० मानिस उपस्थित थिए। परम्पराअनुसार त्यहाँ राजा उपस्थित हुँदैनन्।

घोषणा सभामा महारानीको मृत्युको औपचारिक जानकारी राजसभाका अध्यक्षले सबै सदस्यसामु सुनाउनेछन्। यो घोषणाका शब्दहरू तलमाथि होलान्, तर मुख्य रूपमा यो त्यो परम्परा हो, जहाँ अघिल्लो राजाको प्रशंसा गर्दै नयाँ राजाप्रतिको प्रतिबद्धता व्यक्त गरिनेछ।

घोषणा सभाको औपचारिक पत्रमा प्रधानमन्त्री, क्यान्टरबरीका आर्चबिसप र लर्ड चान्सलर लगायत धेरै वरिष्ठ अधिकारीहरूको हस्ताक्षर हुनेछ।

राजाको पहिलो घोषणा
नयाँ राजा राजसभाका सदस्यहरू सम्मिलित दोस्रो बैठकमा पनि सहभागी हुनेछन्। यो कार्यक्रम राष्ट्रपतिको शपथ जस्तो नयाँ राजाको शासनकालको शुरूआत गर्ने शपथ ग्रहण समारोह होइन। बरु यस सभामा राजाले नयाँ घोषणा गर्नेछन्, जुन १८औं शताब्दीदेखि चलिआएको बेलायती परम्परा हो। जहाँ राजाले ‘चर्च अफ स्कटल्यान्ड’ को संरक्षण गर्ने शपथ लिनेछन्।

ट्रम्पेट बाजाको धुनसँगै चार्ल्सलाई नयाँ राजा घोषणा गरिनेछ। यो घोषणा सेन्ट जेम्स दरबारको फ्रायरी कोर्टमाथिको बरन्डाबाट गार्टर किङ अफ आर्म्स भनिने अधिकारीद्वारा गरिन्छ। हाइड पार्क, टावर अफ लन्डन र जलसेना जहाजहरूबाट बन्दुकको सलामी दिइनेछ र चार्ल्सलाई राजा उद्घोष गर्ने घोषणा एडिन्बरा, कार्डिफ र बेल्फास्टमा पढिनेछ।

कस्तो हुनेछ राज्यारोहण ?

King Charles II

नयाँ उत्तराधिकारी आगमनको उच्चतम क्षण चार्ल्सलाई औपचारिक रूपमा राजमुकुट पहिराइरनु हुनेछ। तयारीका लागि समय लाग्ने भएकाले उक्त कार्यक्रम केही समयपछि हुने बताइन्छ। महारानी एलिजाबेथ सन् १९५२ को फेब्रुअरीमा गद्दीमा बसेकी थिइन् तर सन् १९५३ को जुनसम्म पनि त्यस्तो समारोह भएको थिएन।

बेलायतको राजसंस्थाको इतिहासमा विगत नौ सय वर्षमा राज्याभिषेकको कार्यक्रम बेस्टमिनिस्टर एबीमा भएको छ। राजा विलियमको बेस्टमिनिस्टर एबीमा नै राज्याभिषेक गरिएको थियो। अबका नयाँ राजा चार्ल्स त्यसरी राज्याभिषेक हुने ४०औं राजा हुनेछन्। यो एङ्ग्लिकन चर्चको धार्मिक समारोह हो जसलाई क्यान्टरबरीका आर्चबिशपले सञ्चालन गर्नेछन्। समारोहको बीचमा धार्मिक गुरुले सेन्ट एड्वर्डको सन् १६६१ देखिको सुनौलो मुकुट चार्ल्सको शिरमा पहिराउनेछन्।

राज्याभिषेकमा सुन्तला, गुलाब, दालचिनी, कस्तुरी र एम्बरग्रीसको तेलको मिश्रणबाट बनेको अत्तरले नयाँ राजाको अभिषेक गरिनेछ। अनि, साङ्गीतिक धुन र अनुष्ठानको परम्परा पनि पूरा गरिनेछ।

राष्ट्रमण्डलका प्रमुख

नयाँ राजा चार्ल्स राष्ट्रमण्डलको औपचारिक प्रमुख बन्नेछन्, जहाँ ५६ वटा स्वतन्त्र देशहरू सदस्य रहेका छन्। जनसंख्याको हिसाबले उनले दुई अर्ब ४० करोड मानिसको अगुवाइ गर्नेछन्।

कमनवेल्थ भनिने राष्ट्रमण्डल देशहरूअन्तर्गत अस्ट्रेलिया, एन्टिगुआ, बार्बुडा, बहामस, बेलिज, क्यानडा, ग्रेनाडा, जमैका, पपुवा न्यूगिनी, सेन्ट क्रिस्टोफर र नीभीस, सेन्ट लुसिआ, सेन्ट भिन्सेन्ट, ग्रेनाडिज, न्यूजील्यान्ड, सोलोमन आइल्यान्ड्स र तुभालु रहेका छन्।

सिंहासनको उत्तराधिकारीको लाइनमा को को छन् ?

UK king

चार्ल्सपछि उनक जेठा छोरा राजकुमार विलियम राजगद्दीको उत्तराधिकारीमा पहिलो नम्बरमा छन्। विलियम सन् १९८२ जुन २१ मा जन्मिएका हुन्। कर्नवालका ड्युक विलियम उत्तराधिकारीको लागि पहिलो पङ्क्तिमा छन्। उनले शाही परिवारमा उच्चतम शैक्षिक डिग्री हासिल गरेका छन्

दोस्रो नम्बरमा विलियमका छोरा जर्ज छन्। सन् २०१३ जुलाई २२ मा जन्मिएका प्रिन्स जर्ज हाल ९ वर्षका भए। आफ्ना हजुरबुवा प्रिन्स चार्ल्स र बुबा प्रिन्स विलियमको शासनकाल पछि राजा बने भने उनी बेलायतको ४३औँ राजा हुनेछन्।

तेस्रो नम्बरमा विलियमकी छोरी सार्लोट र चौथो नम्बरमा कान्छा छोरा लुइस छन्। विलियमका अर्का छोरा राजकुमार ह्यारी उत्तराधिकारीको पाँचौं नम्बरमा छन्।

-बीबीसीको सहयोगमा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७